मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको मुख्य प्राथमिकता खानेपानी रहेको बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरीय क्षमता अभिबृद्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘प्रदेशकाे बजेट बनाउने समयमै पहिलो प्राथमिकता खानेपानी दोस्रोमा सिंचाइ र त्यसपछि अन्य योजना तथा कार्यक्रममा प्राथमिकतामा राखेर काम गरेको छौं’ मुख्यमन्त्री जम्कट्टेलले भने । उनले खानेपानीमा अन्तको बजेट काटेर भएपनि काम गर्नुपर्ने बताए । खानेपानीका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्चित गरिएको उनले बताए ।
‘गत साल बजेट बनाउँदा खानेपानी क्षेत्रमा भएको कमिकमजोरी यसपाली सुधार गरेर काम गर्दै छौ’ उनले भने ‘खानेपानी क्षेत्रमा बजेट छैन भनेर काम रोक्न मिल्दैन, अन्य योजनाको बजेट रकमान्तर गरेर पनि काम गर्नुपर्छ ।’ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु भनेको जनस्तरबाट निर्माण भएको समिति भएकाे बताउँदै उनले भने ‘सम्बन्धित बिषयमा नीति नियम बनाउन प्रदेश सरकारलाई खानेपानी समितिहरुले सहयोग गर्ने अपेक्षा राखेको छौ ।’ ‘तपाईहरु नीति बनाउन सहयोग गर्नुहोस् र तपाईहरुको काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भने ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुनु पर्ने बताए । सरकारले खानेपानीका योजनामा एक लाख रुपैयाँ मात्रै विनियाेजन गरेर बजेटमा प्राथमिकतामा राखिएकाे उनले बताए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको आयोजना तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको सहकार्यमा भएकाे कार्यक्रम महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको हाे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मन्त्रालयका सचिब इन्द्र देव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख हरिराम पौडेल लगायतकाकाे आतिथ्यता रहेको थियो ।

