मकवानपुर । मकवानपुरकाे हेटौडामा प्रदेश युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु भएकाे छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा ४ दिने प्रदेश युवा नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमकाे उद्घाटन् गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सिक्न र सिकाउन मानिसलाई उमेरले नछेक्ने बताए । उनले ज्ञान र विज्ञानले संसारलाई चुनौति दिइरहेकाे छ भन्दै सिक्न र सिकाउन उमेर कहिल्यै नजाने बताए । ‘मानिस जन्मनु मर्नु स्वभाविक हो । तर सफल नागरिकको रुपमा स्थापित हुन महत्वपुर्ण हुन्छ।’ युवा नमुना संसद अभ्यास तालिमबाट युवाहरुले वढि भन्दा बढि ज्ञान प्राप्त गर्नुपर्ने र जिवनमा लागू गर्नुपर्ने उनले बताए । प्रदेश सरकारको प्रारम्भ हुँदादेखि नै ग्रामीण युवाहरुलाई समेटेर अघि बढेर जाने कार्ययोजना तयार पारेको र सोहि अनुरुप नै काम भइरहेको पनि उनले जानकारी दिए ।
कार्यक्रम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युवालाइ सशक्तीकरण गर्ने, नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने, नेतृत्व भुमिकामा पुग्नुपर्छ भन्ने मान्यताका आधारमा कार्यक्रम तय गरेको जानकारी दिए । ‘युवाहरुले नेतृत्व गर्न सक्छन भन्ने विश्वासका साथ युवा नेतृत्वको परिकल्पना सहित कार्यक्रमको आयोजना गरिएकाे हाे’ चौलागाईले भने ‘यस्का लागि युवामा निरन्तर पैरवी,अनुशसन,धैर्यता र निरन्तरता आवश्यक छ ।’
उनले यो मुलुकमा केही छैन, मुलुकमा केही गर्ने वातावरण नै छैन, यहाँ बसेर केही काम छैन भन्ने भाष्यलाई परिवर्तन गरि यहि मुलुकमा केही छ र हामीलै नै गर्ने हो भन्ने भाव जागृत गर्ने बताए । ‘युवा लक्षित कार्यक्रमहरु के छन सो खोज्नुस,आवाज उठाउनुस,यहि बर्ष भित्र प्रदेश युवा परिषदको १० हजार युवाहरुलाइ सीप सिकाउने योजना रहेको छ उनले भने ।

