राष्ट्रिय बहसको बिषय बनेको राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर खण्डमा सडक बनाउने बिषयमा त्यस क्षेत्रका प्रतिनिधि सभा सांसद विरोध खतिवडाले प्रतिबद्धता पूरा गरेका छन् ।
उनले परेवाभीर खण्डमा सडक निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिरहँदा नेपाल कम्युनिष्ट पार्टीभित्रको जीवनमा नै हलचल आउने गरी सांसद खतिवडासहितका अभियन्ताहरुलाई ‘गुटबन्दी’ गरेको आरोप मात्रै लागेन, काँग्रेसपरस्त समेत भनियो ।
कारण थियो–राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा सडक निर्माणको बहसलाई उच्च विन्दुमा पुर्याएर बजेट समेत बिनियोजन गरिसकेको थियो । राक्सिराङ गाउँपालिकामा काँग्रेस नेतृत्वको सरकार छ । सांसद खतिवडाको परेवाभीर सडक खण्डका लागि संघीय सरकारबाट कुनै पनि शीर्षकमा बजेट बिनियोजन गरिछाड्ने प्रतिबद्धता जनाएपछि भने प्रमुख बिपक्षी दलका नेता तथा त्यस क्षेत्रका प्रदेश सांसद इन्द्रबहादुर बानियाँले पनि व्यक्तिगत खर्चमै बाटो बनाउने घोषणा गरे ।
राष्ट्रिय बहसकै बिषय बनेर मिडियाहरु परेवाभीर पुग्ने र युट्युबरहरुले समेत यही बिषयलाई उठान गर्न थालेपछि दबाबमा परेको बागमती प्रदेश सरकार पनि ‘बजेट नहाल्ने भनिएको होइन, अनलाइनले गलत समाचार दियो’ भन्ने लाइनमा उभिन बाध्य भयो । यही बीचमा राक्सिराङ गाउँपालिकाले २ करोड रुपियाँ यसै बर्ष खर्चिने गरी परेवाभीर सडक खण्ड निर्माणका लागि प्रक्रिया पनि सुरु गरिसकेको छ । जनताले परेवाभीरको सुधारिएको बलियो बाटो हेर्न तम्तयार भएर बसेका छन् ।
यो खण्ड निर्माण गर्नका लागि सबैभन्दा बढी आवाज संसदमा उठाउने यसै क्षेत्रका अर्का सांसद हुन् ओमबहादुर ग्लान । उनले यो खण्डबाट कोही मान्छे मरेमा बुद्धचोकमा ल्याएर दाह संस्कार गरिने धम्की पनि संसदबाट सरकारलाई दिएका थिए । तर, बजेट नछुटिएपछि बिरक्तिएर अब सरकारकै बिकल्प खोज्नुपर्ने हो कि भन्नेसम्मको आक्रोश पोख्न भ्याए उनले ।
यतिखेर गाउँपालिका र संघीय सरकारको तर्फबाट समेत गरी २ करोड रुपियाँ कार्यान्वयन भई परेवाभीर खण्डमा सडक बन्ने कुराले सबैभन्दा बढी खुसी सांसद ग्लानलाई लागेको छ । उनले सामाजिक सञ्जालबाटै धन्यवाद तथा आभार ब्यक्त गरेका मात्रै छैनन्, थाहासन्देशसँग प्रतिक्रिया दिँदै भनेका छन्–‘यो सुखद् खबरले मनमा निकै शान्ति मिलेको छ ।’
त्यसो त अर्थ मन्त्रालयले लेखेको पत्र देखाउँदै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले संघीय सांसद खतिवडालाई धन्यवाद दिँदै खुसीको खबर सामाजिक सञ्जालमा लेखेका छन् । संघीय सरकारको लगानी थपिएको कुराले यतिखेर पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ तथा धादिङका समेत गाउँहरु लाभान्वित भइरहँदा यतिखेर जनताले यो अभियानमा छुटेका नेताहरुबारे चिन्ता ब्यक्त गर्न थालेका छन् ।
जस्तो कि यसै क्षेत्रका सांसद बानियाँले अब के गर्लान् ? ‘उहाँले व्यक्तिगत खर्चमा बाटो बनाउँछु भनेर सुपरहीट हुन बोलेको कुरा हो’, एक स्थानीयले भने–‘सस्तो बोली उहाँकै लागि गलपासो हुने निश्चित थियो ।’ ब्यापारिक पृष्ठभूमिका बानियाँले चतुरतापूर्वक आफैले बाटो बनाउँछु भनिरहँदा अर्का सांसद ग्लान चाहिँ मौन देखिएका थिए । कतिपय मानिसहरु ग्लानले बुद्धचोकमा सद्गद् गर्नेसम्मको धम्की दिँदा बानियाँले पनि साथ दिएको भए प्रदेश सरकारले परेवाभीरमा बजेट हाल्न सक्थ्यो ।
आफ्नै क्षेत्रका जनताले दुःख पाएको कुरा सदनमा अरुले नै उठाउँदा समेत बानियाँले समर्थन जनाएनन् । कारण थियो,–यस भेगका जनताका पीडा मर्कासँग उनी अभ्यस्त थिएनन् ।
अब यतिखेर बानियाँ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको अग्निपरिक्षा परेवाभीरमा हुँदैछ ।
स्थानीय तहका प्रमुख मल्ल र संघीय सांसद खतिवडाले बोलेको कुरा पूरा गरिसके । आम जनताले यतिखेर दुई तिहाई बढी सांसद भएको बागमती प्रदेश सरकारले परेवाभीरमा थप लगानी गरेर लाज जोगाउँछ कि जोगाउदैन भन्ने बिषय हेरिरहेको छ भने सस्तो लोकप्रियताका लागि बोल्ने बानियाँले ब्यक्तिगत लगानीमा परेवाभीरमा के योगदान गर्न सक्लान् ? यो सर्बत्र चासोको बिषय छ ।
(थाहासन्देश दैनिकबाट)

