मकवानपुर । बागमती प्रदेशमा तामाङ र नेवारी भाषाले सरकारी कामकाजको मान्यता पाएको छ ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा भए संगै सोमबारबाट तामाङ र नेवारी भाषाले सरकारी कामकाजको भाषाको मान्यता पाएको हो ।
भाषा दिवस २०८१ को उपलक्ष्यमा बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० सुभारम्भ घोषणा प्रधानमन्त्री प्रचण्डले काठमाडौको बसन्तपुरमा सोमबार गरे ।
प्रधानमन्त्री प्रचण्डले भाषा शुभारम्भ घोषणा कार्यक्रममा उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरे । उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताए ।
बागमती प्रदेश सरकारले ल्याएको सरकारी कामकाजी भाषा ऐन २०८० सोमबारबाट कार्यान्वयन भएको छ । प्रधानमन्त्रीले शुभारम्भ गरेसंगै औपचारिक रूपमा प्रदेश सरकारी कामकाजी भाषा कार्यान्वयनमा आएको हो ।
२२ असोज २०८० मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयन हुने व्यवस्था बमोजिम सोमबारबाट लाागू भएको हो ।
प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँको वसन्तपुरमा औपचारिक कार्यक्रम गरि ऐन कार्यान्वयनको घोषणा गरेको हो ।
नेवा: समुदायको राष्ट्रिय संगठन नेवा: देय् दबू र तामाङ समुदायको राष्ट्रिय संगठन तामाङ घेदुङको व्यवस्थापनमा वसन्तपुरबाट स्थानीय नेवा: र तामाङ समुदायको सांस्कृतिक भेषभुषा एवं बाजागाजा सहित सांस्कृतिक ऱ्याली, कुमारीको रथयात्रा परिक्रमासहित ऎन घोषणा भएको थियो ।
भाषा ऐन कार्यान्वयन घोषणा पश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम ४ भाषामा लेखिने मन्त्रालयले जनाएको छ । अब कार्यालयको बोर्ड र लेटर हेडमा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहने छ ।
भाषा ऐन कार्यान्वयन एक ऐतिहासिक उपलब्धि भएकाले भन्दै प्रदेश मन्त्रिपरिषद्को गत बैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

