मकवानपुर । प्रदेश युवा परिषद, बागमतीले निःशुल्क लोकसेवाका तयारी कक्षा सञ्चालन गरेको छ । शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै टिकाउने उद्देश्यले परिषदले लोक सेवाको कक्षा सुरु गरेको हो ।
परिषदले शनिबारबाट हेटौंडामा खरिदार पदको निःशुल्क डेढ महिने तयारी कक्षा संचालन गरेको हो । तयारी कक्षाको सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेकी हुन् । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन आवश्यक रहेको उनले बताईन ।
समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो । परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले लोकसेवामा मकवानपुरका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै परिषदले युवाका लागि खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरेको जानकारी दिए ।
तयारी कक्षामा द्वन्द्व पीड़ित, घाईते, दलित, जनजाति, अपंगता भएकालगायत ५० भन्दा बढ़ीको सहभागिता रहेको छ ।