मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश द्रुत कार्य टोलि(र्याट)ले नगर प्रमुख(मेयर) मिना कुमारी लामाको ध्यानाकर्षण गराएको छ ।
आईतबार र्याट बागमती प्रदेश संयोजक महेन्द्र श्रेष्ठसहितको समुहले नगर प्रमुख लामालाई कार्यपालिका बैठक नियमति रुपमा प्रत्यक्ष प्रसारण गर्न ध्यानाकर्षण गराएको हो ।
‘कार्यपालिका बैठक कहिले प्रत्यक्ष प्रसारण गर्ने,कहिले नगर्ने, कहिले निर्णय सार्वजानिक गर्ने कहिले नगर्ने कहिले आधा सार्वजनिक गर्ने । हामी पारदर्शीता चाहन्छौ तसर्थ बैठकको नियमित प्रत्यक्ष प्रसारण साथै निर्णयहरुको पूर्ण लिखित विवरणसहित सार्वजनिक गर्न माग गर्दछौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
साथै समुहले उपमहानगरको संरक्षणमा राखिएको ४८ मध्य आधा भन्दा धेरै सिसि क्यामरा हालको अवस्थामा संचालन नरहेको भन्दै जनताको सुरक्षासँग जोडिएको विषयमासमेत नगरको ध्यान नगएको भन्दै आपत्ति जनाएको छ । क्यामरा नभएको र भएका पनि सञ्चालनमा नआएकोले कुनै पनि दुर्घटना,चोरीलगायतको घटना हुँदा असहज पुगेको भन्दै जनता र सरकारी क्षेत्रकोसमेत सुरक्षालाई ध्यानमा राखेर यथाशीघ्र मर्मत तथा नयाँ जडान गर्न सुझाव दिएको र्याट बागमती प्रदेश संयोजक श्रेष्ठले जानकारी दिए ।
त्यसैगरि हेटौंडाको मुख्य बजार क्षेत्रका फुथपाथमा समेत जथाभाबी पार्किङ तथा व्यवसाय हुँदा सर्वसाधरणलाई आवगमणमा असर पुगेको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराइएको प्रमुख श्रेष्ठले बताए ।
ध्यानाकर्षण पत्र बुझेपछि नगर प्रमुख लामाले र्याटले बुझाएको ध्यानाकर्षण ठिक भएको प्रतिक्रिया दिदै छिटोभन्दा छिटो एक्सनमा लैजाने बताइन् । सीसीटीभीको सम्बन्धमा बजेट ब्यवस्थापन गरेर थप क्यामेरा जडानको तयारीमा लागेको जानकारी दिइन् । पहिले राखिएका सीसीटीभी कमसल रहेको सन्दर्भमा उनले बिनियोजन भएको मध्येबाट खरिद भएकोले त्यस्तो हुन सक्ने भन्दै अब सीसीटीभी जडान गर्दा एडभान्स राख्नु पर्ने अनुभव भएको बताइन् ।
टोलीमा प्रदेश र्याट सदस्य राजकुमार घिमिरे, पार्टी जिल्ला जिल्ला सचिवालय सचीव भुवन खनाल, हेटौंडा उपमहानगरपालिका संगठन विभाग प्रमुख बिशालराज महत, उपमहानगरपालिका र्याट विभाग प्रमुख दामोदर दाहाल लगायतको उपस्थिति रहेको थियो ।

