मकवानपुर । आगामी फागुन १५ गतेका लागि बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बाेलाएकाे प्रदेश सभाकाे बैठककाे लागि आज सर्वदलीय बैठक बस्दैछ । प्रदेश प्रमुख शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन आह्वान गरेका हुन् । गत असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको करिब ५ महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएकाे हाे । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय सहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो ।
५ महिनादेखि प्रदेशसभाकाे बैठक नबस्दा संसदीय समितिहरुको नेतृत्व चयन, कानून निर्माण लगायतका महत्वपूर्ण र जल्दाेबल्दाे विषयहरू अघि बढ्न नसक्दा सरकारकै आलाेचना समेत हुदै आएकाे छ । यसैबीच बागमतीकाे प्रदेश सभा सञ्चालनकाे लागि सर्वदलीय बैठक आजकाे लागि बाेलाइएकाे छ । संसद सुचारु गर्न दलीय सहमतिकाे लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बाेलाएकाे प्रदेशसभा सचिवालय हेटौंडाले जनाएकाे छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हाे ।

