मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह शहीद स्मृती गोल्डकपमा न्यूराेड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरेकाे छ । शनिबार भएकाे प्रतियाेगिताकाे पहिलाे क्वाटरफाइनलमा एनआरटीले लिग विजेता चर्च ब्याइच युनाइटेडलाई ट्राइबेकर ४–३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा भएको टाइब्रेकरमा विजयी टोली एनआरटीको लागि अभिषेक लिम्बु, जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गरेका थिए । एनआरटीका मोहित गुरुङको प्रहार विपक्षीका गोलरक्षक रेम्बो चौधरीले बचाए । चर्च व्वाइजको तर्फबाट निरज कार्की, बिकु राई, कमल श्रेष्ठकाे प्रहारले जाली चुमेकाे थियाे । चर्च व्वाइजका विदेशी खेलाडी बाउण्डोमाको प्रहार गाेलपोष्ट बाहिर गएकाे थियाे भने लक्षु थापाको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले राेके ।
चर्च व्वाइजको तर्फबाट खेलको ५४ औं मिनेटमा राजेश परियार र ७६ औं मिनेटमा मार्टिनले गोल गरेका थिए । दुई गोलले पछाडि परेको एनआरटीले खेलकाे ९० औं मिनेटमा असाेक थापाले १ गोल गर्दै लयमा फर्किएकाे थियाे । यस्तै निर्धारित समयकाे खेलमा थपिएकाे ४ मिनेट अतिरिक्त समयको अन्तिम मिनेटमा विदेशी खेलाडी ग्लोरीले १ गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएकाे खेलको दाेस्रो हाफमा दुवै टोलीबाट २–२ गाेलकाे बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे ।
यसैगरी, आइतबार आयोजक टाेली रिगल हेटौडा मकवानपुर र बागमती क्लब सर्लाही बीच प्रतिस्पर्धा हुनेछ । प्रतियाेगिताकाे उद्घाटन खेलमा बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका थियाे । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे । प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । पाँचौँ संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले याे संस्करणमा सहभागिता जनाएकाे छैन ।

