मकवानपुर । मकवानपुरकाे हेटौडा सहित ७ वटै प्रदेशकाे राजधानीमा आज राष्ट्रिय सभाकाे निर्वाचन अन्तरगत मतदान हुदैछ । बागमतती प्रदेशकाे राजधानी हेटौडामा हुने मतदान हेटौंडा ४ स्थित भुटनदेवी माविमा विहान ९ बजेबाट सुरु हुनेछ ।
फागुन २० गतेबाट रिक्त हुने २० पद मध्ये १९ पदकाे लागि आज निर्वाचन हुन लागेकाे हाे । १ पदमा भने राष्ट्रपतिबाट मनाेनित हुनेछ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ सदस्यकाे पद रिक्त हुने भए पछि मतदान हुन लागेकाे हाे । हेटौडा मतदान केन्द्रमा रहेकाे २ मतदान स्थलमा मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने प्रदेश निर्वाचन कार्यालय बागमतीले जनाएकाे छ । बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने छन् ।
बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार निर्वाचनमा महिला, अपांगता÷अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा हुनेछ।
मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा रिक्त हुने ४ सदस्यकाे लागि १५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा मतदाता रहने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहनेछ । निर्वाचनको लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको ४/४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३, नेपाली कांग्रेसको २, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले १/१ गरी १५ जनाले उम्मेदवारी दिएका छन् । आज हुने निर्वाचनकाे लागि हेटौडामा बुधबार सर्वदलिय सर्वपक्षिय बैठक बसेर तयारी तथा सुरक्षा व्यवस्थाकाे जानकारी गराइएकाे थियाे ।

