मकवानपुर । मकवानपुरको हेटौंडाबाट २ नाबालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिइएकाे हाे ।
बागमती प्रदेश कार्यालय हेटौडाका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भारत छोटीपट्टी गाउँ ८ बस्ने ३० बर्षीय मनोज चौधरी र जुडापकडी बस्ने १९ बर्षीय संजिब कुमार तथा १६ बर्षीय र १४ बर्षीय बालक रहेका छन् । काठमाडौं तर्फबाट बिरगंजतर्फ जादै गरेको पिबी १० सि ००१०९ नम्बरको ईन्डियन गाडीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत राताेमाटेमा चेकजाँच गर्दा उनीहरुकाे साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन १७ एम्पुल, नुर्फिन–४ एम्पुल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
गाडीको सिटको कभरको भित्री भागमा लुकाएर राखेको अवस्थामा उक्त लागुऔषध बरामद भएपछि गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेकाे प्रदेश प्रहरीले जनाएकाे छ ।

