मकवानपुर। नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिराज फारुकीले मुस्लिम समूदायले देशहितलाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताएका छन् ।
शनिबारबाट हेटौँडामा सुरु भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै फारुकीले मुस्लिम समूदाय देशप्रति बफादार हुने गरेको बताए ।
नेकपा एमाले निकट संगठनकाे अधिवेशनमा एमाले केन्द्रीय सदस्य समेत रहेका उनको गठवन्धन रहेसम्म देशले विकासको गति नलिने समेत बताए । गठवन्धनले देशका जनतालाई धोका दिईरहेको भन्दै आफ्नो अधिकार स्थापित गर्दा मुस्लिम समूदाय एक हुनुपर्ने बताए । अहिले गठवन्धनले विकासको गतिलाई रोकेर भागवण्डामा देशलाई अराजकता तर्फ लगिरहेको बताए ।
अध्यक्ष फारुकीले देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको र त्यसको लागि मुस्लिम समूदायको भूमिका महत्वपूर्ण रहेको बताए । देशमा संविधान जारी भएको ८ वर्ष वितिसक्दा समेत मुस्लिम अधिकारको पक्षमा ऐन, कानून निर्माण हुन नसक्नु दुःखद विषय भएको भन्दै उनले आफूहरुले सदन मार्फत मुस्लिम समूदायको अधिकार स्थापनाको लागि आवाज बुलन्द गरेको बताए ।
शनिबारबाट सुरु बागमती प्रदेश प्रथम अधिवेशनले ३३ सदस्यीय कमिटि निर्माण गर्ने नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभाग प्रमुख जगुल मियाले बताए । अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र एक उपसचिव सहितको कमिटि चयन गर्ने छ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब १ सय जना प्रतिनिधिहरु रहेका छन् ।

