मकवानपुर । नेपालमा ३ लाख नागरिकमा अटिजमकाे समस्या रहेकाे एक कार्यक्रममा बताइएकाे छ । बागमती प्रदेशकाे राजधानी हेटौडामा मंगलबार भएकाे अटिजम सम्बन्धी कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएकाे हाे ।
प्रदेश स्वास्थ्य मन्त्रालयकाे आयाेजनामा भएकाे कार्यक्रममा अटिजम केयर नेपाल साेसाइटीका डा. सुरेन्द्र बज्राचार्यले जन्मजात न्युराे डेभलपमेन्ट डिअर्डर हुनु अटिजमकाे समस्या रहेकाे बताउँदै नेपालमा करिव ३ लाख नागरिकमा अटिजमकाे समस्या रहेकाे जानकारी दिए । उनले सन् २००० देखि अटिजमकाे समस्या ३१७% ले बृद्धि हुँदै गएकाे बताए । ‘परिवारमा एक जनालाई अटिजमकाे समस्या देखिए अरुलाई हुने सम्भावना १५-२० प्रतिशत हुन्छ’ उनले भने।
विश्वमा ३६ जनामध्ये १ जनामा अटिजमकाे समस्या देखा पर्ने उनले बताए । अटिजम समस्याकाे मेडिकल जाँच तथा ओैषधी उपचार नभएकाे तर थेरापी केही कम हुने उनले जानकारी दिए । बागमती प्रदेशमा मात्र एक हजारभन्दा बढी तथा मकवानपुर जिल्लामा ७७ जनामा अटिजमकाे समस्या देखिएकाे बताइएकाे छ । जिल्लामा ४७ जना महिला र ३० जनमा पुरुष गरी ७७ जनामा अटिजम समस्या रहेकाे कार्यक्रममा बताइएकाे हाे । भारतमा ८ लाख मानिसमा अटिजम रहेकाे तथ्याङ्क प्रस्तुत गरिएकाे थियाे ।
कार्यक्रममा अटिजमको अन्तराष्ट्रिय, राष्ट्रिय तथा प्रदेशको विद्यमान अवस्था, बागमती प्रदेश भित्र अटिजमको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुको नक्शाङ्कन, अटिजम सम्बन्धी जनस्वास्थ्य क्षेत्रबाट सम्बोधन गर्न सकिने सवालहरु बारेमा स्वास्थ्य क्षेत्रले अटिजम सम्बन्धी गर्न सक्ने कार्यक्रमको कार्ययोजना तयार, मन्त्रालय र सरोकारवाला निकाय बीचको समन्वय र सहकार्यलाई सुदृढीकरण गर्ने लगायतका विषयमा छलफल भएकाे हाे ।
कार्यक्रममा देशभर अटिजमको जनचेतनाको कमी, अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीले अटिजमकाे अवस्थालाई पहिचान गर्न सक्ने क्षमताको कमी,अटिजम सम्बन्धी स्वास्थ्य सेवाको कमी, शीघ्र जाँच पहिचान र निदानमा समस्या,शिघ्र हस्तक्षेपकारी भूमिका र पुनर्स्थापनामा समस्या,अटिजम सम्बन्धी विषेशज्ञ जनशक्तिको कमी, हैविलिटेशन तथा पुनर्स्थापनामा समस्या रहेकाे बताइएकाे छ । यस्तै अटिजमको पूर्ण तथ्यांकको कमि, अटिजम सम्बन्धीअनुसन्धानको कमी, अटिजम सम्बन्धी नीतिको कमी, अटिजम भएका व्यक्तिहरुका लागि आबश्यक सेवा तथा सुबिधाको कमी, रोजगारीमा समस्या रहेकाे बताइएकाे छ।
कार्यक्रममा अटिजम भयका बालबालिकाका अभिभावकले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमा अटिजम वारे जानकारी नहुँदा उपचार गराउन समस्या पर्ने गरेकाे बताए । अटिजम बालबालिकाकाे उपचार पहुँचहुनेकाे छिटाेछरिताे हुने, पहुँच नहुनेकाे उपचार गराउन नसक्ने रहेकाे अभिभावकले बताउँदै अटिजम भएका बालबालिका हुर्काउन अति गाराे हुने भएकाेले तालिमकाे व्यवस्था गरिदिनुपर्ने माग प्रदेश सरकारसँग राखेका थिए ।
बालबालिका एक्लै बस्ने, आँखा नजुधाउने, शब्द वा वाक्यांश दोहो¥याउने, बोलाउँदा नबोल्ने, साधारण तरिकाबाट कुनै कुरा सिक्न नसक्ने, असामान्य व्यवहार गर्ने गरेमा अटिजमको समस्या भएको आशंका गर्न सकिने कार्यक्रममा बताइएकाे थियाे ।
स्वास्थ्य मन्त्रालयका सचीव बद्री बहादुर खड्काकाे सभाध्यक्षता भएकाे कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का मिश्र, सामाजिक बिकास मन्त्रालय महाशाखा प्रमुख गोपाल प्रसाद कडेल, हेटौंडा अस्पताल मेसु रामचन्द्र सापकोटा, सेन्टर फर अटिजमका प्रतिनिधि, स्वास्थ्यकर्मी, मन्टेश्ववरी संचालक प्रतिनिधि, विभिन्न विधालयका प्रतिनिधि तथा संचारकर्मीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

