मकवानपुर । मकवानपुरको बकैयामा १ जनाको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्बर २ सरस्वती सामुदायिक वनमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया २ सरस्वती सामुदायिक वनको वतासेडाँडास्थित जंगलको भिरमा ६०/६५ बर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त शवको सनाखत भएको छैन ।
उक्त स्थानमा शव भेटिए देखि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको छ । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

