मकवानपुर । नेपालले सन् २०१८ मा क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गर्दा अन्तर्राष्ट्रिय मापदण्डको रंगशालाकाे लागि चौतर्फी आवाज उठ्न थालेकाे थियाे । नमुना नेपालकाे परिकल्पना गरिरहेका सिताराम कट्टेलकाे ‘नमुना नेपाल कि क्रिकेट रंगशाला पहिला’ भन्ने नमूना मत सर्वेक्षण प्रश्नमा शतप्रतिशत उत्तर क्रिकेट रंगशालाको मागमा आएपछि नमुना नेपालकाे परियाेजनालाई थाती राखेका उनीहरूले रंगशालाकाे परियोजना अगाडि बढाउने निर्णय गरेका थिए ।
वर्षाै अघि सामाजिक संजालका प्रतिक्रियामै करोडौं रकम घोषणा भए पछि रंगशाला निर्माण जुटेकाे धुर्मस सुन्तली फाउण्डेसन निर्माण कार्यकाे पहिलाे चरणकाे कार्य सकिदा कराेडौं रुपैयाँ ऋण लागेसँगै निर्माण राेकिएकाे रंगशालाकाे निर्माण पुनः सुरु हुने भएकाे हाे । । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले सहयाेग गर्ने भएकाे छ । बागमती प्रदेश सरकारले सहयाेग गर्ने भएपछि रंगशाला निर्माणकाे कार्य अघि बढ्ने भएको हाे ।
मंगलबार बागमती प्रदेश सरकार र भरपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने सम्झौता गरेसँगै निर्माण हुने भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तत्काल निर्माणका लागि लगानी गर्ने भएको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार अहिले पहिलो चरणमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमति भएको छ । यसका लागि ७५ करोड रुपैयाँ खर्च लाग्ने प्राविधिक मूल्याङ्कन भएको उनले जानकारी दिए । बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत रकम लगानी गर्ने सहमति भएको छ ।
रंगशाला प्रस्तावित क्षमता ३० हजार दर्शकको रहेकाे भएपनि तत्काल पहिलो चरणमा १० हजार दर्शक क्षमताकाे बनाउन सुरु गरिने र बाँकी पछिल्लो चरणमा निर्माण गर्दै जाने सदस्य सचिव भण्डारीले बताए । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको रंगशाला निर्माण कार्य ऋण लागेकाे भएको भन्दै रोकिएको थियो । सदस्य सचिव भण्डारीका अनुसार ३ अर्ब रुपैयाँमा बन्ने रंगशालामा अहिलेसम्म ५७ करोड रुपैयाँ बराबरकाे काम भएको छ ।
निर्माणकाे सुरुवाती समयमा व्यक्तिबाट रकम संकलन हुँदै आएकाेमा स्थानीय तहले समेत रंगशाला निर्माणकाे लागि सहयाेग गर्दै आएका थिए । हेटौडा उपमहानगरपालिकाले समेत ३० लाख रुपैंया निर्णय विनै सहयाेग गरेर पछि अनुमाेदन गरेकाे थियाे । तत्कालिन मेयर हरि बहादुर महतले उपमहानगरपालिकाकाे ३० लाख रुपैया रंगशालाकाे निर्माणकाे लागि सहयाेग गरेका थिए ।

यसरी सुरु गरिएकाे थियाे रंगशाला निर्माण
फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो। माघ १६ गते सहिद दिवसको दिन रङ्गशाला निर्माणको लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो। सम्झौतामा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरेका थिए ।
राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजनाकाे कार्य अगाडि बढाइएकाे थियाे ।
कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को उक्त जग्गा क्रिकेट रङ्गशाला बनाउने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिका मार्फत फाउन्डेसनलाई उपलब्ध गराएको थियो। २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने गरी डिजाइन तयार गरिएकाे रङ्गशाला रङ्गशाला कमलको फुल आकारको बन्ने भनिएकाे थियाे । बहुउपयोगी हुने रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहने बताइएकाे थियाे । रङ्गशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनुका साथै साथै एक सिंगे गैँडा, हात्ती, पाटेबाघ लगायत जनावरहरूको धातुको मुर्ति रहने तथा नेपालका पर्यटकीय स्थलहरूलाई चिनाउने सामग्रीहरु समेत रहने गरी निर्माण गरिने गरी निर्माण थालिएकाे थियाे ।
क्रिकेट खेलाडीहरू उत्पादन गर्न एकेडेमी समेत रहने रङ्गशालाकाे निर्माणको लागत ३ अर्ब अनुमान गरिएको थियाे । देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने गरी निर्माण थालिएकाे थियाे । प्रारम्भिक चरणमा फाउन्डेसनको मौज्दात २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने निर्णयसँगै रंगशाला निर्माण अगाडि बढाइएकाे थियाे ।
‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै रंगशालाकाे निर्माण राेकिए पछि गत वर्ष सरकारले रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने नीति लिएकाे थियाे । रंगशाला निर्माण सम्पन्न गर्न भरतपुर महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए पछि संघीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको थियाे ।
निर्माणकाे काम गर्दै जादाँ सहयाेग रकम पर्याप्त जुट्न नसकेकाेले फाउण्डेसनलाई ऋण लागेपछि निर्माण कार्य राेकिएकाे थियाे । देश भरका स्थानीय तहबाट समेत फाउण्डेसनलाई सहयाेग गरिएकाे थियाे । तर पर्याप्त सहयाेग जुट्न नसक्दा ऋण लागेपछि फाउण्डेसनले रंगशालाकाे निर्माण राेकेकाे थियाे ।

