मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले जिल्लामै पहिलो पटक क्रिक्सल (क्रिकेट) प्रतियोगिता गर्ने भएको छ । साेमबार पत्रकार भेटघाटकाे आयोजना गर्दै वडा कार्यालयले जिल्ला स्तरीय खुल्ला किक्सल प्रतियाेगिता गरिने जानकारी दिएकाे हाे ।
हेटौंडा–४ स्थित हेटौंडा फुटसल मैदानमा हुने क्रिकेट खेल आगामी असोज २८ गते घटस्थापनाकाे दिन सुरु हुने छ भने असोज २९ गते समापन गरिने छ । प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार रुपैयाँ र द्वितीय हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
पत्रकार भेटघाटमा वडाध्यक्ष नविन सिग्देलले क्रिकेट खेललाई प्रर्वद्धन गर्नकालागि वडाले क्रिक्सलको आयोजना गर्न लागेको बताए । यूवाहरुलाई सम्भावित र्दुव्यसनीबाट टाढा राख्न र मनोरञ्जनात्मक क्रियाकलाप प्रति उत्प्रेरित गर्न वडाले युवा विशेष खेलको आयोजना गर्न लागेको सिग्देलले जानकारी दिए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु मात्र नभएर खेलकुदलाई पनि संगै लैजानु आजको आवश्यक्ता रहेकोले खेलकुदमा समेत वडा कार्यालयले सहकार्य गरेकाे उनकाे भनाइ थियाे ।
खेलमा भाग लिने प्रति समुह दुई हजार ५ सय दर्ता शुल्क लाग्ने र असोज २७ गते सम्म समुह दर्ता गर्न सकिने खेल संयोजक निरज सिंह ठकुरीले जानकारी दिए । खेलमा कुल खर्च १ लाख ५५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

