मकवानपुर । मकवानपुर प्रहरीले मनहरीबाट ८ लाख रुपैयाँ, लागुऔषध र माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । असाेज २० गते शनिबार उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
उक्त नगद र लागुऔषधसहित कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय राम बहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जित बहादुर चापागाईलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएकाे गस्तीले मकहरी ६ नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागुऔषध फेला पारेको थियो ।
मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६ सय २ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको थियो । लागुऔषध,नगद माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

