मकवानपुर । हेटौडा १४ काे बाल समूह र इकाे क्लबलाई क्षमता अभिबृद्धि तालिम दिइएकाे छ । हरित विद्यालय निर्माण परियोजना तथा मेरो फोहोर मेरो जिम्मेवारी अभियान अन्तरगत तालिम दिइएकाे हाे ।
सामुदायिक विकास तथा सचेतना नेपाल र बागमती युनेस्को क्लवको आयोजना तथा भृकुटी माध्यमिक विद्यालय हेटौँडा १४ को समन्वयमा बाल समुह र इको क्लवका लागि क्षमता अभिवृद्धि तालिम दिइएकाे हाे । तालिममा बाल तथा इको क्लवलाई जीवन उपयोगी सिपहरुका सम्बन्धमा अभिमुखीकरण गरिएको थियो । यसैगरी स्थानीय समुदाय स्तरमा रहेको सामाजिक र वातावरणीय समस्याहरुको बारेमा छलफल तथा समुह कार्य र समस्याहरुमा बाल तथा इको क्लवको भूमिका बारेमा छलफल र अभिमुखीकरण गरिएको थियो ।
तालिम पश्चात इको क्लव र बाल समुहले विद्यालय र संस्थासँग समन्वय गरि समुदाय र विद्यालयमा स्तरका समस्याहरुमा विभिन्न सचेतना कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएका छन् । संस्थाले विद्यालयसँग निरन्तर समन्वयमा वातावरणीय समस्याहरु समाधान गर्दै विद्यालयलाई हरित विद्यालय निर्माणका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बानियाले बताए ।
कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका रुपा सुनार, रोशना सुवेदी, स्वस्तीका बानियाँ र बागमती युनेस्को क्लवका सबाना प्रविनले सहजिकरण गरेका थिए । भृकुटी बाल समुहका अध्यक्ष शिल्पा मुक्तानको अध्यक्षतामा भएको यस अभिमुखीकरणमा शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु कुमारी मुक्तान, विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजाल, सहायक प्रधानाध्यापक प्रेम प्रसाद गौतम, बागमती युनेस्को क्लवका सबाना प्रविन लगायतको उपस्थिति रहेकाे थियाे ।

