मकवानपुर । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ तथा ब्याच वितरण कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा करिब एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथी र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो । तह ३ मा पुगी व्याच लगाउन २ सय ५० वटा पुस्तक अध्ययन गर्नुपर्ने कक्षा २ का शिक्षक सम्झना थापाले जानकारी दिए ।
विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि उनीहरुले २ सय ५० वटा पुस्तक पढेर त्यसको भिडियो गुगलमा राखेपछी तह ३ मा पुग्छन् । त्यसपछि एक सय वटा पुस्तकको समीक्षा गरेपछि बल्ल पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुन पाउने नेपाली भाषा विभाग प्रमुख तथा माध्यमिक तहका संयोजक सिएम रिमालले जानकारी दिए ।
हरेक महिना यो कार्यक्रमको आयोजना गर्ने गरिएको साथै उनीहरुले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढङ्गले प्रस्तुती गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको रिमालले बताए ।
कक्षा २ की छात्रा अनुष्मा रिमालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।

