मकवानपुर । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट सकिएको छ । असोज ८ र ९ गते हुने प्रदेश प्रथम अधिवेशनका लागि एक दुई स्थानीय तह बाहेक १३ वटै जिल्लाबाट प्रतिनिधि छ्नौट गरेर प्रदेशमा पठाइएको प्रदेश कमिटी उपसचिव महेश वर्तौलाले जानकारी दिए ।
ललितपुर महानगर र भक्तपुरको एक स्थानीय तहमा प्रतिनिधि छनौट बुधवार हुने एमालेले जनाएको छ । प्रदेश कमिटीका उपसचिव वर्तौलाका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । काठमाडौबाट १ सय ३२ जना प्रतिनिधि छनौट भएका छन् । त्यस्तै काभ्रेबाट १ सय २५ र मकवानपुरबाट १ सय ६ जना प्रतिनिधि छनौट भइसकेका छन् ।
त्यसैगरी धादिङबाट ८७, चितवन ८५, रामेछाप ८१, भक्तपुर र सिन्धुली ६६ दोलखा ६५,सिन्धुपाल्चोक र नुवाकोट ६४, ललितपुर ५०, रसुवा २७ जना प्रतिनिधि छनौट भएका छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् । यो संख्या जोड्दा १२ सय ८ पुग्छ ।
यसबाहेक प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत हुनेछन् । यो समेत जोड्दा एमाले बागमती प्रदेशमा प्रतिनिधिको संख्या १ हजार २ सय ५० हाराहारी पुग्ने उपसचिव महेश वर्तौलाले जानकारी दिए । ८० प्रतिशत प्रतिनिधि सर्वसम्मत छनोट भएको उनले बताए ।
बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार संगठित सदस्य रहेका छन् । तीमध्येबाट साढे १२ सयको हाराहारी प्रतिनिधि छनोट भएका हुन् । एमालेले १ सय २५ संगठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० संगठित सदस्य बराबर एकजना प्रतिनिधि छानिएका छन् ।
त्यस्तै २२ जनसंगठन रहेकामा एक जनसंगठन बराबर २ जना छनोट हुने व्यवस्था गरेको छ । त्यस्तै ११ वटा विभागबाट एक/एक प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । प्रदेश कमिटी अध्यक्षका लागि हालका प्रदेश अध्यक्ष केशवराज पाण्डेले पुन: अध्यक्ष मै रहने आकांक्षा राखेको बुझिएको छ । त्यस्तै केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल तथा बागमती प्रदेश सभा पूर्वसभामुख सानु श्रेष्ठले समेत प्रदेश अध्यक्षमा उम्मेदवारी दिने मनस्थितिमा छन् ।
https://www.facebook.com/61550690957349/videos/305006378890753/?mibextid=aeE5u291GO6w2R91

