काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन् ।
विहीबार नेपाल चिकित्सक सङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएकाे संघले जानकारी दिएकाे हाे । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएका छन् ।
संघ अध्यक्ष डा अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ । भदौ २७ गते बुधबार हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला सांघातिक आक्रमण भएकाे थियाे ।
उक्त घटनाको विषयलाई लिएर आज प्रधानमन्त्रीसँग सङ्घको टोलीले भेट गरेको थियो । सङ्घले नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।
यसैबीच नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ।संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।
७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघले चेतावनी दिएको छ । नेपाल चिकित्सक संघको माग प्रति नेपाल सरकारी चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ। सरकारी चिकित्सक संघले पनि आज विज्ञप्ती जारी गर्दै डाक्टर कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।

