“कक्षा आठमा पढ्ने एक जना किशोरी बिद्यालयको चौरमा अचानक कराउंदै, छटपटिंदै, लडिबुढी गर्दै बेहोेस भईन् उसको यस्तो ब्यबहार हेरीरहेकी सोही कक्षामा पढ्ने उनकी साथी पनि त्यसरी नै चिच्याउंदै कराउंदै बेहोस भईन क्रमशः एकपछि अर्को गर्दै त्यो दिन एउटै कक्षामा पढ्ने ७ जना किशोरीहरु सामुहिक रुपमा बेहोस् भए । कोहि काप्न थाले कोहि चिच्याउन थाले । अचानक बिद्यालयमा यस्तो घटना भएपछि के गर्ने कसो गर्ने हामीलाई थाहा भएन र एक हप्ता बिद्यालय बन्द ग-यौं । फेरी ठिक होला भनेको यो समस्या १० कक्षाका छात्राहरुमा देखिन थालेको छ कति धामिझांक्रि लगाईयो कति पूजापाठ गरियो तर यो समस्या ज्यूँकातिउँ छ” यो एक शिक्षकले बिद्यालयमा भोगेको घटना हो । यसलाई एउटा प्रतिनिधि घटनाको रुपमा लिन सकिन्छ ।
ग्रामिण तथा शहरी क्षेत्रका बिद्यालयहरुमा यसरी किशोरीहरु सामुहिक रुपमा ढल्ने, बेहोश हुने कारण हप्ता दिनसम्म बिद्यालयहरु बन्द भएका खबरहरु यदाकता विभिन्न सञ्चार माध्यमहरुबाट सुनिन थालेको छ । यस्ता घटनाहरुलाई आम जनमानसको लागि सामान्य वा असामान्य पनि हुन सक्छ तर प्रत्यक्षरुपमा सरोकार राख्नेहरुका लागि यो एउटा जटिल, रहस्यमय, पुनरावृत्त भईरहने, उपेक्षा गरिएको साथै समाधानको प्रयास गर्दा गर्दै पनि समाधान नभएको समस्याको रुपमा लिने गरेको छ । यस्ता समस्याहरुलाई फरक पाटोबाट सोच्नेहरुका मनमा यो कस्तो समस्या हो ? यो किन भैरहेको छ ? कस्तो अवस्थामा यस्तो समस्या हुन्छ ? के यो निको नहुने रोग हो र ? यस्को समाधान कसरी गर्न सकिन्छ ? बिद्यालय तथा शिक्षकहरुको टाउको दुखाईको बिषय बनेको यो समस्यालाई कसरी निराकरण गर्न सकिन्छ होला ? यस्ता समस्याहरुको समाधानको लागि स्थानीय स्तरमा के कस्ता श्रोत होलान् ? यदि यो समस्या मेरो परिवारमा भएमा मैले के गर्ने होला भन्ने जस्ता कुराहरु अवश्य पनि खेलेको हुनुपर्दछ ।
यस्तो समस्याहरुको बारेमा नेपालको परिपच्छेमा अपेक्षित अध्ययन तथा अनुसन्धान भएको खासै देखिंदैन । यस्तो किसिमको समस्यालाई भूलोग, स्थान बिषेश कतै हिस्टेरिया, कहि बेहोस हुने समस्या, कहि कन्र्भरजन डिसअर्डर त कहि रुपान्तरित विकृति पनि भन्ने गरेको पाईएको छ । विश्व स्वास्थ्य संगठनको रोगहरुको अन्तर्राष्ट्रिय वर्गीकरणमा परिभाषित गरिए अनुसार यो एक प्रकारको मानसिक विकार हो जसमा स्नुडो न्यूरोलोजिक (pseudo-neurologic) लक्षणहरु देखा पर्दछन् ।
जब ब्यक्तिहरु आफ्नो तनावलाई ब्यक्त गर्न असमर्थ हुन्छन् यो रुपान्तरीत भएर शारिरीक लक्षण मार्फत् ब्यक्त हुन्छ यसलाई पहिले हिस्टेरीया भनेर पनि चिनिन्थ्यो । अझ यसलाई सरल भाषामा भन्नुपर्दा मानिसलाई स्वभाबिक रुपमा तनाब हुने गर्दछ । मनमा तनाब हुनु सामान्य कुरा हो । तनाबलाई सामना गर्ने ब्यक्ति अनुसार फरक फरक तरिका हुने गर्दछन् । बढि तनाब भएको समयमा शरिरमा नजानिदो किसिमले नकारात्मक तथा विकारजन्य लक्षणहरु प्रस्फुटन भैरहेको हुन्छ ।
कतिपय ब्यक्तिहरुले तनाबलाई सहज रुपमा ब्यक्त गर्दछन् भने कतिपय ब्यक्तिले अरुले के सोच्ला, के भन्ला भन्ने डरले मनैमा गुम्स्याएर राख्ने र भित्रभित्र तनावसंग लडिरहेको अवस्था हुन्छ । कतिपय अवस्थामा चाहेर पनि उचित वाताबरण नहुंदा तनाब ब्यक्त गर्न नसकेको अवस्था मा तनाबहरु एकपछि अर्को गरि मनमा थुप्रिंदै गएको तनाबले शारिरीक लक्षणका रुपमा बाहिर देखिन्छ त्यसलाई रुपान्तरित विकृति भन्ने गरिन्छ ।
भावनात्मक समस्याहरु शारिरिक लक्षणका रुपमा बाहिर निस्कको अवस्थानै रुपान्तरीत विकृतिको अवस्था हो । यस्तो अवस्थामा उनीहरु चिच्याउने, ढल्ने, कराउने , उफ्रिने, काम्ने गर्दछन् । यसरी छोप्ने क्रम घण्टौंसम्म पनि हुन सक्छ । यसरी सामुहिक रुपमा ढल्ने अवस्थालाई मास कन्र्भरजन डिसअर्डर पनि भन्ने गरिन्छ ।
अझ यसलाई सरल उदाहरण सहित बुझाउनु पर्दा प्रेसर कुकरसंग तुलना गर्न सकिन्छ । जसरी प्रेसर कुकरमा खाना बनाउंदा आगोको तापको कारण निश्चित समयमा कुकरबाट सिट्टीको मार्फत् हावा बाहिर निस्कने गर्छ र हावा बाहिर निस्केपछि सिट्टी आफैं बन्द हुन्छ । यदि त्यही ताप मात्र दिने हो र हावा बाहिर निस्कन पाएन भने कुकर पड्कन्छ । त्यस्तै तनाव भरिंदै गएर बाहिर निस्कन नपाएको कारण शारिरीक लक्षण मार्फत ब्यक्त हुन्छ ।
यसरी रुपान्तरित विकृतिलाई बुझ्न सकिन्छ । यस्तो समस्याहरु पुरुषमाभन्दा महिला तथा किशोरीहरुमा हुनेगरेको देखिन्छ । अनुसन्धानलाई आधार मानेर भन्नुपर्दा महिलाहरु पूरुषको तुलनामा चिन्तालाई मनभित्रै राख्ने, सजिलै व्यत्त नगर्ने जस्ता कारणहरुले गर्दा पनि महिलाहरुमा बढि हुने गरेको देखिन्छ । एउटा समस्या भएको किशोरी बेहोस् भएपछि उसलाई देखेर उस्तै खालको समस्या भएको उसको साथि ढल्ने र यो क्रम सर्दै जाने हुन्छ ।
जस्तै चिन्ताग्रस्त भएर रोईरहेको साथि देख्दा अर्को साथीको पनि रोएको देखेर साथी पनि रुनु एकपछि अर्कोलाई सर्दै जाने क्रम हो । यस्ता घटनाहरु बिषेशगरी बिद्यालय, मेलाहरु, मन्दिर तथा प्राथना स्थललगायत भिडभाड हुने ठाउँहरुमा हुने गरेको पाईन्छ । अर्को उधाहरण भन्नुपर्दा कोचाकोच यात्रुहरु चढेको गाडिमा एक व्यत्तिले बान्ता गरेमा अर्को व्यत्तिलाई पनि बान्ता आउला जस्तो हुने वा बान्ता गर्ने जस्तै हो । यो उसको आफ्नो नियन्त्रमा हुंदैन ।
रुपान्तरित विकृतिको एकिन कारण यहि नै हो भनि पर्याप्त वैज्ञानिक अनुशन्धान नभएता पनि केहि सैद्धान्तिक कथनहरुलाई आधार मान्दा बिषेशगरी तनाव, अरुको ब्यबहारको कारणले गर्दा भोग्नु परेको मनोवैज्ञानिक असर, मनमा भित्रभित्र खेल्ने द्धन्द्ध, अत्याधिक चिन्ता, डरलगायत ब्यक्तिको अन्तरमूखि व्यवहार नै यसका प्रमुख कारणका रुपमा मान्न सकिन्छ । यसका बारेमा समाजमा विभिन्न किसिमका भ्रमहरु रहेको पाईन्छ । यसलाई समाजले महिलाको यौनिकतासंग जोडेको पाईन्छ विवाह पश्चात ठिक हुन्छ भन्ने प्रचलन छ । यथार्थ के हो भने यो एउटा मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्या हो ।
तनावको व्यवस्थापन भएमा यो ठिक हुन्छ । अर्को भ्रम के पनि छ भने यसलाई सरुवा रोगको रुपमा लिने गरेको देखिन्छ तर के हो भने यो कुनै किसिमको सरुवा रोग होईन यो समुहमा उस्तै समस्या भएको व्यत्ति समुहिक रुपमा प्रभाव परेको कारण सरुवा रोग होकि भन्ने भ्रम रहेको छ । अझै पनि समाजमा देवि देवता लागेको, भूत प्रेतले दुःख दिएको, मसान जागेको हो र धामी लगाएपछि देवीको पूजा गरेपछि ठिक हुन्छ भन्ने प्रचलन छ तर यो शतप्रतिसत भ्रम हो यो कुनै देवीदेवता तथा भूतप्रेतको कारणले होईन यो नितान्त तनावसंग सम्बन्धित छ ।
यस्ता समाधान तत्कालिन अवस्थामा प्राथमिक मनोवैज्ञानिक सहयोगबाट समाधान गर्न सकिन्छ । व्यत्तिमा भएको यस्ता किसिमको तनावहरुलाई व्यवस्थापन गरेमा यो समाधान हुन्छ ।
तर ध्यान दिनुपर्ने कुरा के हो भने बिद्यालयमा यस्तो समस्या भएमा आत्तिनु हुंदैन । यस्तो अवस्थाले गर्दा अन्य बिद्यार्थीहरुमा पर्न सक्ने मनोवैज्ञानिक असरहरुलाई ध्यान दिंदै यो सामान्य किसिमको समस्या हो भन्ने कुरा बुझ्नु आवश्यक छ यो यथार्थ पनि हो । यस्तो समस्या भएको व्यत्तिको वरपर झुम्मिरहने, हातगोडा चलाउने, पानी छम्कने, सुमसुम्याउने, प्रश्न माथि प्रश्न गर्ने जस्ता कार्य गर्ने गरेको पाईन्छ तर त्यस्तो गर्नु हुँदैन । उसलाई छुट्टै कोठामा राखेर टाढैबाट नियाल्न सकिन्छ । होसमा आईसकेपछि उसलाई हप्काउने, गालि गर्ने तथा मनमा चोट पु-याउने कुनै पनि किक्रियाकलाप गर्नु हुंदैन । उसमा भएको अन्धविश्वास, डर र त्रासलाई कम गराउने प्रयास गर्नुपर्दछ ।
उसले देखाएको लक्षणहरुमा वास्ता गरिरहेमा वा यसलार्ई चलाईरहेमा यो अवस्था लामो समयसम्म पनि जान सक्छ । होसमा आईसकेपछिको अवस्थामा उसको ध्यान अन्यत्र मोड्नु पर्दछ उसका मनका कुरा खुल्ला रुपमा भन्ने बातावरण सृजना गर्नुपर्दछ सार्थै उसको मनको तनावको कारण पत्ता लगाई त्यस्को राम्रो व्यवस्थापन गर्ने तर्फ केन्द्रित हुनुपर्दछ ।
के कुरा हेक्का राख्नुपर्छ भन्दा यो तनावले गर्दा हुने समस्या हो यसमा औषधि खानुपर्ने हुंदैन । यसको लागि उसको परिवार, साथीभाई, शिक्षकहरु, मनोविमर्शकर्ताहरुले यसको व्यवस्थापनमा सहयोग गरि समस्या समाधाना गर्न सक्छन् ।
यस्तो समस्या भएमा बिद्यालय बन्द गर्नुभन्दा पनि बिद्यालयमा नाचगान, खेलकुद तथा मनोरञ्जनका क्रियाकलापहरु सञ्चालन गरि सहज र रमाईलो वातावरणको सृजना गर्न सकिन्छ । यसले अन्य बिद्यार्थीहरुमा परेको मनोवैज्ञानिक असरलाई कम गर्न सघाउ पु-याउँदछ ।
यस्तो समस्या हुदा व्यक्ति तथा उसको परिवार प्रति गरिने लाल्छाना तथा भेदभाव साथै यसप्रति व्याप्त नकारात्मक भ्रमका कारण कयौं किशोरीहरु बिद्यालय छाड्न बाध्य भएका छन्, कतिपय परीक्षाबाट बञ्चित हुने अवस्थाको सृजना भएको छ भने विवाह गरे पछि ठिक हुन्छ भन्ने भ्रमका कारण कतिपयको वालबिवाह समेत भएको उदारणहरु छन् । यस्तो अवस्थामा हप्तौ बिद्यालय बन्द भएका उदारण नौलो भएन । यस्ता सामान्य समस्याहरुलाई कतिपय सञ्चार माध्यमहरुले त्रासदिपूर्ण तरिकाले समाचारहरु सम्प्रेषण हुने गरेको पनि पाईन्छ ।
जसका कारण किशोर किशोरीहरुमा नकारात्मक असर पर्न जाने हुदा यस प्रति सबै सजक हुनु आवश्यक छ । सम्बन्धित विद्यालयका शिक्षहरुलाई समस्याको व्यवस्थापनकाे लागि प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धि सिप प्रदान गर्न सकेमा यो समस्याको निराकरण सरल र सहज ढंगबाट सम्भव छ । आगामी लेखहरुमा यस बारेमा अझ विस्तृत रुपमा व्याख्या गर्नेछु ।
प्रतिकृयाकाे लागि: shrkhanal@gmail.com
(खनाल मकवापूर जिल्लामा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रमको लागि टिपिओ नेपालमा कार्यक्रम संयोजक हुन् ।)

