मकवानपुर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकोले हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राती देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

