मकवानपुर । अग्रज साहित्यकार तथा मकवानपुरको शिक्षा क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्व तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
मधुमेह, रक्तचापसम्बन्धी समस्याबाट ग्रसित थापालाई पछिल्लो समय निमोनिया समेत देखिए पछि चितवनको पुरानो मेडिकल कलेजमा उपचारत थिए । २००२ साल असोज २ गते मकवानपुर जिल्लाको भैँसेमा जन्मिएका थापा अग्रज साहित्यकार तथा मकवानपुरको शिक्षा क्षेत्रको उन्नयनमा योगदान पुर्याएका ब्यक्ति हुन । शिक्षण पेशाबाट निवृत्त भएपछि थापाले नेपाली साहित्यमा विशेष योगदान दिएका थिए ।
अग्रपंक्तिमा रहेका ‘दाना कविता’ का प्रणेता थापा कथा, कविता, नाटक बिधामा कलम चलाउदै आएका थिए । उनी मकवानपुरमा रहेर भाषा, साहित्य, शिक्षा र सामाजिक अभियानमा निरन्तर लागिरहेका अग्रज स्रष्टा थिए । थापा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुन् ।
थापाका ‘एक निमेष अनन्तको’– २०५८ मसिना कविताहरू, अमरसिंहको खोजीमा अमरसिंह नाटक– २०६१, फरक आकाश– २०७२ कथा सङ्ग्रहलगायत प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका छन । उनको अन्तिम संस्कार भाद्र ९ गते बिहान ९ बजे चितवनको देवघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मकवानपुरे साहित्यकारहरुले थापालाई गुरुकाे रुपमा लिने गर्छन् । सबैकाे प्रिय तुल्सी सरप्रति सहीखबर परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

