मकवानपुर । हेटौंडामा २० बर्ष अघि बलात्कार पछि हत्या गरेको आरोपमा एक जना अभियुक्तलाई थुनामा पठाइएको छ । ५ बर्षीया बालिकालाई ललाईफकाई बलात्कार गरी हत्या गरेर फरार रहेको ४५ वर्षीय सोमबहादुर राईलाई पक्राउ पछि अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियाे । राईले २०६० असोज १८ गते ५ बर्षीया बालिकालाई ‘चकलेट दिन्छु’ भन्दै फकाएर बलात्कार पछि हत्या गरेका थिए । हत्यापछि हेटौंडा–१० स्थित राप्ती खोलाको बगरमा ढुंगाको चेपमा शव फ्याकेर राई फरार भएको अनुसन्धानमा खुलेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरीको कार्यालय मकवानपुरले राईले बालिकाको बलात्कार गरि हत्या गरेको अनुसन्धानमा प्रतिवेदन अदालतलाई बुझाएको थियो । २० बर्ष देखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वागमती प्रदेश प्रहरीको संयुक्त टोलिले गत साउन १३ गते ललितपुरको गोदावारी नगरपालिका –१४ ठैबबाट पक्राउ गरेको थियो । प्रकाउ पछि राईले प्रहरी समक्ष बालिकाको बलात्कार गरि हत्या गरेको बयान दिएका थिए ।

