मकवानपुर । मकवानपुर जिल्लामा ६ हजार पशुमा लम्पी स्कीन विरुद्धकाे खाेप लगाइएकाे छ । बागमती प्रदेशमा गत साउन २५ गतेबाट लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएकाेमा भदाै १ गतेसम्ममा मकवानपुर जिल्लामा ६ हजार ८ सय २२ पशुमा खेाप लगाइएकाे प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ ।
बागमती प्रदेशका १३ जिल्लामा संचालन गरिएकाे खाेप अभियानकाे उक्त अवधीमा प्रदेशमा ४८ हजार ३ सय ६४ पशुमा लम्की स्कीन विरुद्धकाे खाेप लगाइएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले मातहतका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मार्फत प्रदेशका ९१ स्थानीय तहमा संचालन गरेको खोप अभियान अन्तर्गत ४८ हजार ३ सय ६४ गाई भैँसी, गोरु, साँढे, पाडापाडी र बाँच्छाबाच्छीमा रोगविरुद्धको खोप लगाएको हो ।
मन्त्रालयले साउन २५ देखि भदौ १ गतेसम्म ९ दिन संचालन गरेको लम्पी स्किन रोगविरुद्धको खोप अभियानमा सबैभन्दा बढी खोप चितवन र सबैभन्दा कम दोलखा जिल्लाका पशुमा खोप लगाइएको छ । चितवनमा १० हजार २ सय १९ तथा दोलखामा ५ सय ४९ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।
यसैगरी काठमाडौं जिल्लामा २ हजार ४ सय ३९, भक्तपुर जिल्लामा ९ सय २१, ललितपुर जिल्लामा १ हजार ५ सय ८०, धादिङ जिल्लामा ४ हजार ३ सय १ सिन्धुली जिल्लामा २ हजार ५ सय ७८, रामेछाप जिल्लामा २ हजार ३ सय ३५, सिन्धुपाल्चोकमा ३ हजार २ सय ७४, काभ्रेपलाञ्चाेक जिल्लामा ८ हजार ४ सय ११, नुवाकोट जिल्लामा ३ हजार ५ सय ९७ र रसुवा जिल्लामा १ हजार ३ सय ३८ पशुमा लम्पी स्किनको खोप लगाइएको मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३२ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भने पनि प्राकृतिक विपद्का कारण एकदिन थप गरेर भदौ १ गतेसम्म संचालन गरिएको थियो । उक्त अभियानमा प्रदेशका ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा ४८ हजार ३ सय ६४ पशुमा मात्र खाेप लगाउन सकिएकाे अधिकारीले जानकारी दिए ।
खोप अभियान संचालनका लागि मन्त्रालय मातहतको १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट १ सय ४६ जना भ्याक्सिनेटर नियुक्त गरेका थिए । प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ६ हजार २ सय ९१ पशुको मृत्यु भएकाे र १ लाख १० हजार ४४० पशु संक्रमित भएकाे मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ ।
सप्ताहव्यापी अभियान सकिए पनि लम्पी स्किनविरुद्धको खोप कार्यक्रम भने निरन्तर चल्ने मन्त्रालयले जनाएकाे छ ।


