मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण मंगलबार साउन २३ गते बिहान ४ बजेको पहिरोले घर बगाउँदा ७ जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पहिरोमा परी घाइते सन्त माया स्यांतानलाई स्थानीयले उद्दार गरी स्थानिय स्वास्थ्य सस्थामा लगेकोमा उपचारको क्रममा बिहान ८:३० बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पहिरोमा परी बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, साढे १ वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्दाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।
बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी रहेको कार्कीले बताए । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका अकलबहादुर स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको प्रहरीले जनाएको छ ।

