मकवानपुर । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग देशभर महामारीका रुपमा फैलिएको छ । प्रायः जिल्लामा फैलिइसकेको रोग नियन्त्रणका लागि स्थानीयदेखि संघीय सरकारले प्रयास गरिरहेता पनि समाधान हुन सकिरहेको छैन ।
देशभर साढे १० लाख पशु चौपायामा लम्पी स्किन संक्रमण हुँदा ४० हजारको मृत्यु भएको तथ्याङ्क छ । सुदूरपश्चिम, कोशी, बागमती, कर्णालीमा संक्रमितको संख्या बढ्दो छ ।
बागमती प्रदेशका जिल्लाहरुमा यो रोग झन् झन फैंलदो छ । तथ्यांकअनुसार बागमतीमा कुल १ लाख ३९ हजार ८ सय ३८ पशुमा संक्रमण पुष्टि भएकाेमा हालसम्म बागमतीमा ९७ हजार ३ सय ५१ मा खोप लगाइएको छ ।
रोग नियन्त्रणका लागि गत आर्थिक बर्षबाटै खोप लगाउन सुरू गरिएको प्रदेशमा चालु आवमा पनि खोप कार्यक्रमले निरन्तरता पाएको छ । प्रदेशका जिल्लाहरुमा प्रति जिल्ला ५ देखि ७ लाख बजेट बागमती सरकारले रोग नियन्त्रणका लागि छुट्याएको छ । साउनबाटै खोप अभियान सप्ताह व्यापीरुपमा खोप कार्यक्रम सुरू हुने प्रदेशको कृषि मन्त्रालयले जनाइएको छ ।
‘पहिले बजेटको कारण अलि समस्या थियो,अब त्यो छैन,बजेट नै विनियोजन भैसकेको छ,’ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु विकास अधिकृत निशान्त शर्माले भने ।
मकवानपुरमा ६ हजार डोज खोप लगाइदै
मकवानपुर जिल्लामा लम्पी स्किन रोगको बिरुद्ध ६ हजार डोज खोप लगाईने भएको छ । जिल्लाको १० वटै पालिकामा ६ सयका दरले खोप लगाउन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन विरुद्धको खोप अभियानकै रुपमा संचालन गर्न लागेको हो ।
कृषि मन्त्रालयको कार्यक्रम अनुसार लम्पी स्किन सङ्क्रमण रोक्न सबै पालिकामा खोप कार्यक्रम संचालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले जनाएको छ । पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि यही साउन २५ गतेदेखि ३१ गतेसम्म साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको केन्द्र प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट सप्ताहव्यापी लम्पी रोग नियन्त्रण अभियानका लागि १० वटै पालिकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखलाई फोकल पर्सन तोकिने भएको छ ।
दुधको उत्पादन ८० प्रतिशत घट्यो
गाईभैसीमा लाग्ने लम्पी स्किन राेगका कारण गत आवमा मकवानपुर जिल्लामा ८० प्रतिशत दुधकाे उत्पादन घटेकाे छ । मकवानपुरमा दुध उत्पादन ५१ हजार २ सय ८८ मेट्रिक टन हुने गरेकाेमा लम्पी स्कीन राेगकाे कारण ८० प्रतिशत घटेकाे हाे ।
लम्पी स्किन महामारीकै रुपमा फैलिएपछि रोग निवारणका लागि सरकारी तहबाट खोप अभियानलाई तीव्रता दिएतापनि पशुहरुमा संक्रमण र मर्ने दर भने नियन्त्रण भएको छैन । यसले गर्दा पशुपालक किसानहरु अत्यधिक मारमा परेका छन् ।मकवानपुर जिल्लामा हालसम्म २ सय ७४ गाई लम्पी स्किनकाे कारण मृत्यु भएको बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएकाे छ । संघीय सरकारले राहतकाे कार्यक्रम घाेषणा गरिने बताइ रहँदा पीडित किसानका लागि राहत कार्यक्रम भने हालसम्म पुग्न सकेकाे छैन ।
खोप संक्रमणको दर कम गर्न प्रभावित तथा जोखिममा रहेका पशुहरु समेत गरि १९ हजार ४ सय पशु चौपायमा खोप लगाएको छ । खाेप संक्रमित पशुहरुमा भने लगाउन नमिल्ने बताइएकाे छ । गत आर्थिक बर्षमा राहत वितरणको लागि वागमती प्रदेश सरकारले १ करोड ४७ लाख रुपैया विनियोजन गरेकोमा यस आवका लागि ५ करोड रकम विनियोजन गरेको मन्त्रालयले बताएको छ ।
प्रदेश सरकारको १३ जिल्लाका लागि ८ वटा आकस्मिक रोग नियन्त्रण कार्यक्रम अन्तर्गत विज्ञ केन्द्रमार्फत संचालन हुने खोप अभियानको लागि ६५ लाख रकम विनियोजन गरेकाे छ । मकवानपुर जिल्लाको लागि ९ लाख ७५ हजार रकम विनियोजन भएको छ । लम्पि स्किनको खोप रोगबाट बचाउनका लागि मात्र लगाइने र १ डोज लगाउने भनिएतापनि यस्को पनि बुस्टर डोज लगाउनुपर्ने किसानहरुको माग रहेको मन्त्रालयले जानकारी दिएकाे छ ।
मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा भने ५ हजार ६ सय पशुलाई गत आवमा खाेप लगाइएककाे हेटौडा उपमहानगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख गंगा कुमारी चौलागाईले बताइन् । उपमहानगरपालिकाकाे विनियाेजित बजेट १५ लाखकाे बजेटबाट लम्पि स्किन खाेप लगाइएकाेमा यस बर्ष १२ हजार पशुमा खाेप लगाउने लक्ष्य रहेकाे चौलागाईले जानकारी दिइन् ।
बागमती प्रदेशमा साढे ४ हजार पशु चौपाया मरे
यसैगरी बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगका कारण करिब साढे चार हजारभन्दा बढी पशु चौपाया मरेका छन् । बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा गत २०७९ पुसदेखि २०८० साउन दोस्रो सातासम्म ४ हजार ६ सय १८ पशु मरेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रदेशमा लम्पी स्किन रोगका कारण १ लाख ५३ हजार नौ सय ५ पशुहरु प्रभावित भएका छन् । मन्त्रालयकाे तथ्यांकअनुसार प्रदेशकाे १३ जिल्लामध्ये सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा पशु मरेका छन् ।
काभ्रेमा लम्पी स्किनका कारण ५ सय ८१ वटा गाई र गोरु मरेका छन् । सिन्धुलीमा ६ सय ५०, धादिङमा ५ सय १३, मकवानपुरमा ४ सय ४६, नुवाकोटमा ४ सय ११, सिन्धुपाल्चोकमा ३ सय ६०, काठमाडौँमा ३ सय ५७, भक्तपुरमा २ सय ९३, चितवनमा २ सय ४२, रामेछापमा २ सय २९, दोलखामा १ सय ७४, रसुवामा १ सय ७३ र ललितपुरमा ८९ पशु मरेका छन् ।
बागमती प्रदेशमै पहिलो पटक मकवानपुरगढीमा लम्की स्किन
बागमती प्रदेशमा सबैभन्दा पहिला यो रोग २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकामा देखा परेकाे थियाे । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरुका अनुसार यो रोग मकवानपुरपछि माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र बैशाखमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा फैलिएको थियो ।
रोग फैलँदै गएपछि रोग विरुद्धको खोप लगाउने कामलाई पनि तीव्र पारिएको छ । रोग नियन्त्रणका लागि संक्रमित नभइसकेका १ लाख १७ हजार ९ सय ५ वटा पशुमा खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख १५ हजार ६ सय ९७ गाई र ५ हजार १ सय ८ भैंसीलाई खोप लगाइसकिएको हो ।
माेरङबाट सुरु भएकाे राेग पुग्याे देशैभर
नेपालमा वि.सं २०७७ साल असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही गाईमा लम्पी स्किनसँग मिल्दो लक्षणहरु देखापरेपछि थियाे । माेरङमा लक्षणसहित देखा परेपछि पशु सेवा विभागले आवश्यक नमुना संकलन गरी परीक्षण गर्दा नेपालमा २०७७ साल श्रावण महिनाको ११ गते यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको थियाे । विश्व पशु स्वास्थ्य संगठनले पनि नेपाल लम्पी स्किन रोग देखापरेको प्रमाणित गरेकाे थियाे ।
रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान छ । रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ ।
कसरी फैलन्छ लम्पी स्किन, नियन्त्रणकाे उपाय के ?
यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ। यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ। पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ।

