संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । विहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा अगाडि सारिएको हो । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको हाे ।
नेपालकाे संविधानमा संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ । न्याय परिषद्ले उपलब्ध गराएको वरिष्ठताको सूची अनुसार परिषदले विहीबार प्रधानन्यायाधीशकाे लागि श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिमा सिफारिस गरेको हो ।
श्रेष्ठको सिफारिस भएसँगै समितिले उजुरी आव्हान गर्दै सूचना प्रकाशित गर्नेछ भने उजुरीकर्तासँग छलफल गरी उजुरीबारे स्पष्ट पार्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न प्रस्तावित व्यक्तिलाई समय दिनेछ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुनेछ ।

