मकवानपुर । ‘कम्युनिष्ट आन्दाेलनकाे आवश्यकता एमाले पार्टी बलियो हुदाँ पुरा हुन्छ’ नेकपा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले बताएका छन् ।
एमाले केन्द्रीय संगठन विभागका प्रमुख समेत रहेका अधिकारीले नेकपा एमाले, मकवानपुरद्वारा ४५ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आइतबार आयोजित प्रवचन कार्यक्रममा एमाले बलियो हुदाँ कम्युनिष्ट आन्दोलनकाे आवश्यकता तथा समग्र मुलुककै आवश्यकता पुरा हुने बताएका हुन् । ‘नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा एमाले रहेकाे छ’ अधिकारीले भने ‘समाजवादमा पुग्नको लागि संघीय लोतान्त्रिक गणतन्त्रको सुदृढ गर्दै राष्ट्रिययता, विकास र समृद्विको लागि मुलुकमा नेकपा एमालेको नेतृत्व विना सम्भव छैन ।’
नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानमा अधिकारीले भने ‘पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा बैचारिक आधार खडा गर्नु र लोकतन्त्रको लागि संयुक्त जनआन्दोलनको प्रस्ताव महत्वपूर्ण रहेको थियाे ।’ ‘पुष्पलालकाे संयुक्त जनआान्दोलनको प्रस्तावलाई नेपाली काँग्रेसले नटेर्दा मुलुकमा २०१७ सालमा निरंकुश शासन आएको हाे’ उनले भने ‘प्रस्ताव स्वीकार्दा २०४६ र २०६२/०६३ सालको जनआान्दोलन सफल भयाे । लोकतन्त्र र गणतन्त्रकाे शासन हामीले अभ्यास गर्न पाएका छाै ।’
कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले दुःख, कष्ट र संकटमा जो टिक्न सक्छ त्यहि नेता हुने पुष्पलालबाट सिक्नुपर्ने बताए । ज्ञवालीले मकवानपुर जिल्लालाई नेकपा एमाले बलियो पार्टी बनाउने र पहिलो बन्ने दावी समेत गरे । एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवा अवस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दोलनमा विशेष योगदान रहेको बताए । पुष्पलालले क्रान्तिको शत्रु र मित्र छुट्याएर सही वर्ग विश्लेषण गरेकाेले आजको एमाले पुष्पलालको विरासत भएको रानाले बताए ।
माओवादी र एस परित्याग गरी एमाले प्रवेश
प्रवचन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र, मकवानपुरका जिल्ला सदस्यहरू दिलबहादुर दोर्जे पाख्रिन, गंगा भट्टराई, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका संजेल, विष्णुमाया सापकोटा, गोविन्द देवकोटा, बकैया गाउँपालिका कमिटीका सदस्य कृष्ण बहादुर भोलनलगायत एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिए ।
।
एमाले प्रवेश पछि दिल दोर्जे पाख्रिनले हिजो नौलो जनवाद, समाजवाद भन्दै कुर्सीलाई प्राथमिकता दिएको र माओवादी पार्टीमा विचलन भएकोले व्यक्तिवादी हावी भएको, जनता र मुलुकको भविष्य नरहेको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिनाले पार्टी विभाजन हुनु नेतृत्वको गल्ति भएको र मुहान सफा हुनु पर्ने बताए।
यस अघी नेकपा एमाले मकवानपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यालय अगाडि रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरी मनाएको हो । दिवसकाे अवसरमा एमाले मकवानपुरले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे थियो ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य ज्ञवाली, केन्द्रीय सदस्यद्वय रामेश्वर राना, कृष्णप्रसाद दाहाल, प्रदेश सदस्यहरु क्रमशः अनन्त पौडेल, रघुनाथ खुलाल, नारायण सापकोटा, सचिव नवीन सिग्देललगायतकाको सहभागिता रहेको थियो ।

