मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाले सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण अभियान सुरु गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिले मंगलबारबाट सुर्तिजन्य पदार्थ बिक्री नियन्त्रण अनुगमन सुरु गरेकाे हाे ।
अनुगमन समितिले हेटौंडा–२ नगरपालिका रोडमा रहेका १४ वटा पसल व्यवसायहरु अनुगमन गरेको थियो । उपमहानगरसँगै रहेकाे राजदेबी भोजनालय तथा खाजा घरमा अनुगमन गर्दा सुर्तिजन्य पदार्थ बिक्री गरिहेको फेला परेपछि होटललाई २ हजार रुपियाँ जरीवाना गरेको उपमहानगरपालिकाले जनाएकाे छ । उपमहानगरले साउन १ गतेबाट सुर्तिजन्य पदार्थको प्रतिबन्धका लागि माइकिङ गरेसँगै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन थालेको छ ।
उपमहानगरले नेपाल सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनको आधारमा निर्देशिका २०७७ कार्यान्वनमा ल्याएकाे छ । साेही निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्न थालेको उपमहानगरपालिकाले जानकारी दिएकाे हाे । उपमहानगरको १३ औं नगरसभाले नगरक्षेत्रमा साउन १ गतेबाट सुर्तिजन्य पदार्थमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेकाे छ ।
नियमन सार्वजनिकस्थलहरू, विद्यालय क्षेत्र , सरकारी कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, चौकी रहेका क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय उपमहानगरले गरेको छ । उपमहानगरको निर्देशन नमान्ने जोकोहीलाई २ हजारदेखि २५ हजारसम्म जरिवाना हुने र निषेधित ठाउँबाहेकका होटेल तथा रेस्टुरेन्टहरूमा छुट्टै ध्रुमपान गर्ने ठाउँ (स्माेकिङ्ग जोन)को व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ ।
यस अघी उपमहानगरपालिकाकाे बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा मंगलबार भएकाे बैठकले अनुगमनलाई तिब्रता दिने निर्णय गरेको थियो । उपप्रमुख बानियाँले उपमहानगरले गरेको निर्णय कार्यान्वयनकामा लैजाने बताए । उनले जाे कसैले सुर्तिजन्य पदार्य बिक्री गरी गलत गरेको पाइएमा कारवाही गरिने बताए । पहिलाे चरणमा बिद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थल र धार्मिक स्थाल क्षेत्रलाई बिशेष निगरानी गरिने र अन्य क्षेत्रलाई बिस्तारै नियमनकाे दायरामा ल्याउने उपमहनागरपालिकाकाे याेजना रहेकाे बताइएकाे छ ।
वडा अध्यक्ष बिष्णुगाेपाल महर्जन, जिल्ला प्रशासन कार्यालयल, खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता राष्ट्रिय हित मञ्च, नेपाल उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि समेतकाे उपस्थितिमा उपमहानगरले अनुगमन थालेकाे हाे ।

