
रासा नेपाली साहित्य जगतमा चिरपरिचित नाम हो । लघुकथा लेखनमा पनि सक्रिय रहनु भएका रासासँग हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरोले लघुकथा कै सेरोफेरोमा रहेर लिएको अन्तर्वार्ता
नमस्कार सर, सर्वप्रथम यहाँको पुरा परिचय बताइदिनु होस् न।
नमस्ते, मेरो पूरा नाम : राजु सायमी
जन्म : वि.सं. २०२३/२/६/५ पशुपति, देवपत्तन
माता : हीराकुमारी मानन्धर
पिता : पशुपति भक्त मानन्धर
शिक्षा : बि. कम.
प्रकाशित कृतिहरू :
१. रात निदाएको रातमा (गजल सङ्ग्रह, वि.सं.०५८)
२. अकाल : अलाप (कविता सङ्ग्रह, वि.सं.०५९)
३. घाउमाथि घाउ (गजल सङ्ग्रह, वि.सं.०६३)
४. जीवन-अगिंमथ: (नेपालभाषा कविता सङ्ग्रह, वि.सं.०६३)
५. मेरो चिन्तनको सौदामिनी (लघुनिबन्ध सङ्ग्रह, अनुवाद)
६. चाहना एक रातको (कथा सङ्ग्रह, अनुवाद)
७. कविता व म्ह्याय् (नेपालभाषा शृङ्खलाबद्ध कविता, वि.सं.०७४)
८. साँचोको झुप्पा (नाटक, अनुवाद)
९. फल्चा (नेपालभाषा लघुकथा सङ्ग्रह, वि.सं.०७८)
१०. अघोषित आवाज (लघुकथा सङ्ग्रह, अनुवाद)
पुरस्कार/सम्मान :
१. न:लि लक्ष्मीदेवी साहित्य सिरपा, वि.सं.०७६
२. याताज: श्याम विश्व सिरपा,वि.सं.०७८
३. बैजयन्ती स्रष्टा सम्मान,वि.सं.०७९
हालको बसोबास : गौरीघाट, कामनपा.७, मेरो परिचय यहि नै हो।
यहाँको लेखन यात्रा कहिलेदेखि शुरु भएको हो ?
विक्रमाव्द पचासको दशकको शुरूवातदेखि नै म लघुकथा लेखनमा लागिपरेको हुँ । फुटकर रुपमा मेरा थुप्रै लघुकथाहरू विविन्न पत्रिकामा प्रकाशित भएका छन् । मेरो लेखन-कार्य बीचमा अलिक सुस्ताएको हो । हाल पुनः सक्रिय भएको छु । म नेपालभाषा (मेरो मातृभाषा) र नेपालीमा लेख्ने गर्छु । मातृभाषामा एउटा सङ्ग्रह प्रकाशित छ । यद्यपि म लेखनभन्दा अध्ययनमा दत्तचित्त छु ।
पुरानो पुस्ताले नयाँ पुस्तालाई लघुकथा लेखनमा आकर्षित गरिरहेको छ। नयाँ पुस्तामा आएको रुचि उनीहरूले गरेको प्रगती बारे यहाँले के कस्तो मुल्यांकन गरिरहनु भएको छ?
लघुकथा लेखनमा पुराना र नयाँ दुबै पुस्ता समर्पित छन् । पुरानो पुस्ताका लेखकहरूबाट प्रभावित नयाँ पुस्ताका लेखकहरू र नयाँ पुस्ताका लेखकहरूबाट प्रफुल्लित पुराना पुस्ताका लेखकहरूको लघुकथा लेखनमा समर्पण प्रशंसनीय छ । अन्य साहित्यिक बिधामा जस्तै लघुकथा बिधामा पनि रिसराग , प्रतिस्पर्धा , अथवा पुरस्कार तथा सम्मानमा राजनिती, आफन्तवाद , नातावाद भनौँ ,कतै यस्तो महसुस गर्नु भएको छ ?तपाईंले इंगित गर्नुभएका यावत् विकृति/ बिसङ्गतिहरू समग्र साहित्य क्षेत्रमा विद्यमान छन् । यी विडम्बनाहरू अगोचर छैनन् । म नकारात्मकताभन्दा पनि सकारात्मकतातिर ध्यानाकर्षण हुनुपर्छ भन्नेठान्दछु ।
हाम्रा गतिविधिहरूलाई यहाँले के कसरी नियालिरहनु भएको छ ?
तपाईंहरू र तपाईंहरूको पेजद्वारा संचालित प्रायः गतिविधिहरू मेरो नजरमा परेका छन् । लघुकथाको उन्नयनका लागि गरिएका ती गतिविधिहरू सराहनीय छन् । म कुनै नकारात्मक टिप्पणी गर्न रुचाउँदिनँ ।
यहाँले थुप्रै लघुकथा पढिसक्नु भएको छ।आफुलाई मन परेको एउटा कुनै लघुकथा याद छ ?जसले यहाँलाई लेख्न प्रेरित गर्यो।
मलाई लेख्नका लागि उत्प्रेरित गरेका लघुकथाहरू नभएका होइनन् , पर्याप्त छन् । यहाँ म तिनलाई उल्लेख गर्न असमर्थ छु । यद्यपि म इसपका कथा, आफन्तीका कथा, पञ्चतन्त्र, जातक कथा र खलील जिब्रानका लघुकथाहरूबाट अत्यधिक उत्साहित, प्रेरित र प्रभावित छु ।
यहाँ पुरानो पुस्ताका लघुकथाकार ,आफुले लेखेको र अति मन परेको एउटा लघुकथा बताइदिनु होस् न ?
हामीले अहिलेसम्म त्यस्तो लघुकथा लेख्न सकिएको छैन जस्तो लाग्छ । केही आफ्ना प्रिय लघुकथाहरू छन् , जुन मेरो प्रकाशोन्मुख सङ्ग्रहमा आउने नै छन् । प्रतीक्षा गर्नुहोला।
हालै मात्र हाम्रो लघुकथा केन्द्रद्वारा निर्माण गरिएको लघुकथा गानको तेस्रो वर्षको प्रवेशको कार्यक्रममा साहित्यका थुप्रै बिधामा कलम चलाइसक्नु भएका सिद्धहस्त साहित्यकार , गोरखापत्र दैनिकका पुर्व प्रधान सम्पादक, लघुकथा समाज नेपालका सस्थापक अध्यक्ष ( २०६५-२०७९) एवं श्रष्टा समाज नेपालका अध्यक्ष श्री ओम रोदन श्रेष्ठ सरले लघुकथा गान साहित्य बिधाको पहिलो र ऐतिहासिक गान भएको बताउनु भयो। नेपालको साहित्यिक गतिविधिलाई नजिकै बाट नियालिरहनु भएको यहाँ कत्तिको सहमत हुन्छ ? लामो प्रश्नको सटिक उत्तर दिनुपर्दा?
#- यहाँले सोध्नु भएको प्रश्नप्रती म पुर्ण सहमत छु। तर अन्य बाहिरी कुरा म त्यति जान्दिनँ।
मैले सोध्न भुलेका र आफुलाई भन्न मन लागेका केही कुरा छन् कि ?
लघुकथा सम्बन्धी काम-कुराहरू असङ्ख्य छन् , ती जम्मै यहाँ प्रस्तुत गर्न सम्भव छैन । त्यसका लागि अलग्गै एउटा आलेख लेख्नुपर्ला कि ! भन्ने लाग्दछ। अन्तमा , मेरो सानो भलाकुसारी आफ्नो पेज मार्फत पाठकसामु पुर्याइदिनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ।

