मकवानपुर । मकवानपुर सहित केहि स्थानमा मंगलबार राती मौसम बदली भइ हल्का वर्षा भएको छ । करिब २ हप्ता देखिको उखरमाउलो गर्मीलाई मंगलबारको वर्षाले केही राहत पुगेको छ ।
यस्तै कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण हल्का वर्षा भएको हो । तर यस वर्ष मनसुनी वर्षाको आगमनको औसत मिति (जुन १३ तारिख) भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिन देखि बढेको गर्मी र वर्षा नहुदा देशका अधिकांश भू-भागहरू: विशेष गरि मध्य तथा पश्चिमी भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाण्डौ उपत्यका लगायत देशका अन्य क्षेत्रमा पनि तापक्रममा अस्वाभाविक वृद्धि भएको छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण गरे अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखाएको छ । कोशी प्रदेशमा भने बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम घट्नुका साथै अत्याधिक गर्मीको नहुने देखिएको छ।
यस्तै बागमती प्रदेशको तराईका भू-भाग र मधेश प्रदेशको पश्चिमी भू-भागमा थोरै तापक्रम घटे तापनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । तसर्थ, ती भू-भागहरूमा आगामी चार दिन जेठ ३० गते देखि असार १ गतेसम्म तातो हावा तथा लू (Heat wave) को सम्भावना यथावत् रहने महाशाखाको अनुमान छ ।
मधेश प्रदेशको पूर्वी भू-भागमा तापक्रम केही धट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना रहनुका साथै देशको पश्चिमी पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको हुनाले ती भू-भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले तातो हावा तथा लूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ ।
तातो हावा तथा लू बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि असर देखिन सक्छ । तातो हावा तथा लू बाट बच्न महाशाखाले बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ जूस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

