मकवानपुर । गाँजाको बैकल्पिक खेतीमा प्रोत्साहन गर्ने योजना कागजमा थन्केको छ, बर्षैसाला गांजा फडानीमा प्रहरी र प्रशासनले करोडौं खर्च गर्छ,तर गांजाको खेती उस्तै छ ।
गांजाको कारोवार गरेको आरोपमा दिनहुँ जसो युवाहरू कानुनको कठघरामा पुग्छन् । पछिल्लो २ दिनमा मकवानपुरमा झन्डै ७ क्वीन्टल गांजा बरामद गरेको छ । गाजांसंगै युवाहरू पक्राउ परेका छन् । पछिल्लो उदाहरण आजकै हो । बुधबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित दुइ जना पक्राउ परेका छन् । ५ सय ११ केजी गाँजा सहित बुधबार मकवानपुर प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो ।
कुटुन्जेका ४२ वर्षिय राधाकृष्ण रिजाल र ३८ वर्षिय उत्तम रिजालको घरबाट प्रहरीले ठुलो परिमाणमा गाँजा फेला पारेको हो ।
प्रहरीले लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक दिपक केसीको कमाण्डमा २६ जनाको प्रहरी टोली खटेको थियो । खानतलासी गर्दा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो । दुबै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई दिन अघि मात्रै मकवानपुरकै थाहानगरपालिकाको एक वडाका अध्यक्ष र उनका बुवा गांजा सहित पक्राउ परेका थिए । अबैध लागू औषध गांजाको कारोवारमा स्थानीय युवा मात्रै हैन स्थानीय जनप्रतिनिधिसम्मको संलग्नता रहेको पाएको छ । मकवानपुरको कैलाश, राक्सिराङ, मनहरीलगायत गाउँपालिका र थाहा नगरपालिकामा बिषेशगरी गांजा खेती हुने गरेको छ ।

