मकवानपुर । बालमैत्री स्थानीय शासन लागु भएको घोषणा भइसकेको मकवानपुरको बकैया गाउँपालिकामा बालश्रमिकहरु रहे, नरहेको बारेमा स्थलगत अनुगमन गरिएको छ ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । स्थानीय स्तरमा सञ्चालित होटल, ग्यारेजहरुमा बालश्रमिकको अवस्थाबारे अनुगमन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रिय अध्यक्ष एवम् बाल कल्याण समाज मकवानपुरको अध्यक्ष प्रकाश खतिवडालगायतको टोली अनुगमनमा सहभागी थियो ।
अनुगमन टोलीले खाजा खाने बाहाना गरेर हात्तिसुढेँ क्षेत्रका होटलहरुमा हुन सक्ने बालश्रमिकको बारेमा अनुगमनपछि होटल सञ्चालकहरुलाई सचेत गराइएको थियो ।
बालमैत्री घोषणापछि पनि धेरै स्थानहरुमा अनुगमन गर्नुका साथै बाल सहजकर्ता मार्फत बालबालिका विषयमा जानकारी लिने गरेको अध्यक्ष लामिछानेले बताए । गाउँपालिकामा होटल तथा खाजाघरमा बालश्रममा प्रयोग न्यून रहेता पनि प्रायः ट्याक्टर तथा अन्य ढुवानी सेवाका सवारीमा काम गर्ने बालकहरु अझै रहेको अध्यक्ष लामिछानेले बताए ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्यि बाल संरक्षण संजाल, बाल कल्याण समाज मकवानपुर तथा बकैया गाउँपालिकाको संयुक्त रुपमा अनुगमन भएको थियो । अनुगमनको क्रममा राष्ट्यि बाल संरक्षण संजाल एवम् बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले व्यवसायीहरुलाई १४ वर्षभन्दा मूनिका बालबालिकालाई श्रममा नराख्न अनुरोध गरिएको बताए ।
बालश्रम अन्त्य होस् भन्ने उद्देश्यले अनुगमन गरिएको हो, बालबालिकालाई श्रममा राखिएको पाइएमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने समेत अध्यक्ष खतिवडाले बताए । बकैया ४ हात्तिसुढेँ क्षेत्रमा रहेका ८ वटा होटल तथा खाजाघरहरुमा अनुगमन गरिएको थियो ।
यस्ता अनुगमनलाई नियमित रुपमा गाउँपालिकाले लैजाने गाउँपालिकाका उपाध्यक्ष खत्रीले बताए । अनुगमनमा गाउँपालिका अध्यक्ष लामिछाने, उपाध्यक्ष खत्री, बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, कार्यपालिका सदस्य लक्ष्मी माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, महिला बालबालिका इकाइ प्रमुख होम कुमारि सन्जेल सञ्चारकर्मी आशिष दुलाल, वडा सदस्य संजय लोप्चन, बाल अधिकार समिती सदस्य द्वय ठुलीमाया मुक्तान र सुर्यकला तिमल्सिना, गाउँपालिका स्तरिय बाल संजाल अध्यक्ष सिमोन भोलन, न्यायिक सहजकर्ता शुभ लक्ष्मी बिक, उद्यम विकास सहजकर्ता विकाश श्रेष्ट, स्वास्थ्य कर्मी रत्न लक्ष्मी डंगोल, बालमैत्री सहजकर्ताहरु सबिन खडका, मन्जु बज्यु, बिरे लाल सिंतान, सोमलाल जिम्बा, अस्मीता राई, सुदिप दुलाल, गंगा फुयाल, पदम घलान, जयबहादुर भोम्जन, सुमन बिक, कोपिला घिमिरेलगायतको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा बालबालिकालाई श्रमीकको रुपमा प्रयोग नगरौ, नगराऔ र शिक्षामा जोड दिऔ भन्ने सन्देश दिईएको थियो ।

