मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरकाे छुट्टाछुट्टै स्थानबाट २ जना भारतीय नागरिक सहित अन्य ३ जनालाई लागुऔषाधसहित प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
हेटौंडा–१ स्थित चौकीटोलबाट प्रहरीले लागुऔषध वनरेक्स २ सय ४० बोतल (प्रति बोतल १ सय एमएल), डाइजेपाम १३ बट्टा (प्रति बट्टा ५० एम्पुल), नोरफिन ६ बट्ट (प्रति बट्टा १ सय एम्पुल), फेनारगन १ सय २० पत्ता (प्रति पत्ता ५ एम्पुल) सहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । बिहिबार विशेष सूचनाको आधारमा वीरगंजबाट काठमाडौं जादै गरेको भारतीय प्लेट नम्बर भएको बोलेरो गाडीलाई हेटौंडा–१ चौकीटोलमा प्रहरीले जाँच गर्दा बोलेरो चालक भारतको सिवान जिल्ला पन्चायत–५ का २६ वर्षीय अमित कुमार र गाडीमा सवार सोहि स्थानका २३ वर्षीय अनिल कुमारलाई उक्त परिमाणकाे लागुऔषधसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी लागुऔषध नाईट्राभेटसहित ३ जनालाई हेटौंडा उपमहानरगपालिका वडा नम्बर १५ चुरियामाई मन्दिरस्थितबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिहिबार वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नम्बरको अटोलाई सुरक्षाजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्राभेट २ सय ९९ ट्यावलेट फेला पारि ३ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका–१८, भगतपुर घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका–१ ब्रिटिशक्याम्प रोड बस्ने २७ वर्षीय सन्तोष सिंह, अटोमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने बर्ष ३५ वर्षीय ईश्वर श्रेष्ठ र अटोमा सवार सोहि ठाँउका ३४ वर्षीय रमेश घले रहेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका ५ जनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

