
धर्तीलाई गहिरो निद्राबाट ब्युँझाएर
ब्युँझन्छ माटाको चुलो
अदृश्य खुड्किलाबाट ओर्लदै आउँछ बहुआयामिक भोक
धेरै अनुहार देखाउँदै
स्वतन्त्रताअघि
स्वतन्त्रताको भोक थियो,
पाएपछि
गाँस, बास र कपासको भोक झाँगियो
भोक बस्ने आपट्टे जङ्गल बन्यो
हजारौँ- लाखौँ कोमल र खस्रा हातहरूले
फरुवा चलाए
पसिना चुहाए
बाली उमारे
अनि
एक गाँस जाउलाका लागि
भोकभोकै सुते
स्वतन्त्रताका कथा सुन्दै
मिल र कारखानाहरू उभिए
अनगिन्ती,
बादल फाट्यो आकाशबाट,
जसले कपडा बनायो
भोलिदेखि
उही नाङ्गो रह्यो
मुर्दा ढाक्ने कात्राको लागि हाहाकार भयो
हो त!
रुखका बोक्रा र जनावरको छालाले लाज ढाक्ने मानिस
विकासको चरम चुलीमा पुग्यो
आविष्कार गर्यो अत्याधुनिक कपडा
अनि सभ्यताको उत्कृष्टता देखाउँदै
फेरि कपडा फ्याँक्यो
फेरि नाङ्गियो
एकातिर संस्कृतिको भोक जन्मायो
अर्कातिर नारीलाई विज्ञापनको नाङ्गो दुनियाँमा ठेलिदियो
नयाँ भोकले
अब लाजले लज्जित भएर कहाँ नाक लुकाओस्!
घरै घर बनिए
घरमाथि घर
धेरै पहाड ढले, नाङ्गिए
तर,
भोक घटेन
झन् तीव्र हुँदै गयो
आकाश छोयो मानसिक भोकले
युगदेखि टाढा थियौँ हामी
अघि बढ्यौँ
बढिरह्यौ
अघि बढ्ने भोकले हामीलाई
उभ्याइदियो वैश्वीकरणको त्यो पहाडमा
जहाँबाट भोकका
रासै रास देखिन्छन्।
धर्मको भोक जाग्यो
कट्टरता जन्मायो
बालीनालीका ठाउँमा
बम र बन्दुकहरू फलाउन थाल्यो
कुल देउतालाई साक्षी राखेर
अरूलाई झटारो हान्यो
काँचको घरभित्रबाट
आतङ्कवादको वर्षा सुरु भयो
हेरिएन
को दोषी
को निर्दोष
आयो आधुनिकताको भोक
सबै हद नाघेर
संवेदनशीलताको अन्त्य नै गरिदियो
मनोरञ्जनको
सूचनाको
ग्लेमरको
फेसनको
मोबाइलको
तकनीकको
हर वस्तुको भोक –
निजी भोक,
सामाजिक भोक,
क्षेत्रीय भोक,
जातीय भोक,
वैश्विक भोक।
हो त, हामी वैश्विक भयौँ
भारतमा नुहाएर
अमेरिकामा केश सुकाउने
वैश्वीकरणको यो भोकले
मान्छेको विचारलाई बिस्तारै निल्न थाल्यो
संवेदनशीलताको अन्त्यले
यो भोकलाई झन् बढायो
आज हामी यति धेरै भोकाएका छौँ कि
गान्धीको त्यो कथनलाई पनि बिर्सिन लागेछौ:
” जिउनका लागि खाओ, खानका लागि होइन”
यो भोक समय समयमा आइरहन्छ
आफूलाई तृप्त पार्नका लागि
कतिको बालापन, इज्जत र स्वाभिमान छिन्छ
भोक चाहे जेको पनि नहोस् किन
मृत्युुभन्दा पहिले शान्त हुँदैन
चलमलाइरहन्छ
तपाईँका अघि।
असम, भारत

