मकवानपुर । राष्ट्रपति चयनको निर्वाचन अन्तर्गत मतदानको कार्य सकिएको छ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको हाे । निर्वाचनको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।
बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।
संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।
निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान गरेनन् ।
राष्ट्रपति पदका लागि पूर्व सभामुखद्वय नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । नेम्वाङलाई एमालेको साथ छ ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
मतदानमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ गरी ८ सय ३१ जनाले मतदान गरे । संघीय संसदका ३ सय ३४ जनामध्ये ३ सय १३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५ सय ५० जनामध्ये ५ सय १८ जनाले मतदान गरेका छन् ।

