मकवानपुर । हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।
पाचौं सस्करणको प्रतियोगिता अन्तर्गत विहीबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै एपीएफले सेमिफाइनल प्रबेश पाएको हो । खेलको निर्धारित समय गोल रहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा एपीएफका नवीन लामा, सुदिप सिखाकार, सनी श्रेष्ठ तथा दिपेश धिमालले गोल गरेका थिए । आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गरे । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।
खेलको म्यान अफ दी म्याच सशस्त्रका गाोलरक्षक राजु नगरकोटी घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
शुक्रबार आयोजक मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लबवीच प्रतिस्पर्धा हुनेछ ।

