हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब भने प्रदेश सरकारले गरेको काम देखिने समय आएको बताएका छन् ।
लामो समय ऐन, कानुन तथा नीति निर्माण जस्ता कार्यमा लागेको कारण भौतिक रुपमा देखिने गरी काम गर्न नभ्याएको तर अब विस्तारै भौतिक कामहरु देखिन थालेको उनले बताएका हुन् ।बागमती प्रदेशको विभिन्न जिल्लामा निर्माण भएका ३२ वटा पुलहरुको एकमुष्ट रुपमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारले केहि गरेन भन्नेहरुलाई गाउँमा गएर विकासको काम हेर्न समेत अनुरोध गरे । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै बागमती प्रदेशमा १ सय २० वटा सडक पुल निर्माण भईरहेको छ । प्रदेश भित्र झोलुङ्गे पुल १३ वटा बनाउने भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिएका छन् । करिब १ अर्ब लागतमा पुलहरु निर्माण हुन लागको निर्देशनालयले जानकारी दिएको छ ।

