मकवानपुर । बागमती प्रदेशकाे मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ । प्रदेशमा मन्त्रालय घटाउन गठित कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष प्रतिवेदन बुझाएको भाेलीपल्ट बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे । प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको कार्यदलले मंगलबार मुख्यमन्त्री जम्कट्टेलसमक्ष प्रतिवेदन बुझाएकाे थियाे ।
प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका जम्मकट्टेलले गरिरहेका छन् । उनले गत पुष २६ गते सपथ लिए लगत्तै मन्त्रालयकाे संख्या पुनरावलाेकन गर्न कार्यदल गठन गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन जम्कट्टेलले नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धव थापालाइ मन्त्रीमा नियुक्ति गरेका थिए तर कार्य विभाजन गरेका थिएनन् । कार्यदलले प्रदेशमा मन्त्रालयकाे संख्या ९ देखि ११ वटा कायम गर्न सिफारिस गरेसँगै बुधवार मुख्यमन्त्री जम्कट्टेलले थप ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।
बागमती प्रदेश सरकारले पूर्णता पाएसँगै मकवानपुर जिल्लाबाट २ जना मन्त्रीमा नियुक्त भएका छन् । मकवानपुरबाट नेकपा एमालेका १ जना र नेकपा माओवादी केन्द्रका १ जना मन्त्रीमा नियुक्त भएका हुन् । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को २ बाट निर्वाचित एमालेका एकालाल श्रेष्ठ र सभा क्षेत्र नम्बर २ को १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मुक्तान मन्त्री भएका हुन् । मुक्तान यस अघी प्रदेशकाे सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा थिइन । यस पटक पनि उनले साेही मन्त्रालयकाे कार्यभार पाएकी छिन् । पहिलो पटक बागमती प्रदेशमा निर्वाचित भएका श्रेष्ठले श्रम तथा राेजगार मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।
७ जना पहिलाे प्रवेश मै मन्त्री
नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको गबठन्धन तथा अन्य दलकाे समेत समर्थमा गठन भएकाे प्रदेश सरकारमा मुख्यमन्त्रीसहित कुल ११ मन्त्री छन् । जसमध्ये ७ जनाले प्रदेशसभाको पहिलो प्रवेशमै मन्त्री हुने अवसर पाएका छन् ।
गठबन्धन ३ वटै दलबाट पहिलो पटकमै मन्त्री हुने छन् । प्रदेशसभा प्रवेशको पहिलो पटकमै मन्त्री हुनेमा एमालेका एकालाल श्रेष्ठ, जगन्नाथ थपलिया, रामेश्वर श्रेष्ठ रहेका छन् । यसैगरी, राप्रपाका ३ जना मन्त्रीहरू उद्धव थापा, राजु विष्ट र डम्बर तामाङ पनि पहिलो पटकमै मन्त्री भएका हुन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगा नारायण श्रेष्ठ पनि पहिलाे पटक मन्त्री बनेका छन् ।
चितवनबाट प्रदेश सभकाे सदस्यमा निर्वाचित थपलिया प्रदेश सरकारकाे अघिल्लो कार्यकालका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए । प्रदेश सरकारमा थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी प्राप्त गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बागतीमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गठबन्धनकाे भागवण्डा अनुसारकाे सहमति कायम रही रहे एमाले संसदीय दलका नेता थपलिया मुख्यमन्त्रीका दाबेदार समेत हुन् ।
पहिलोपटक प्रदेशसभामा आएका एमाले मकवानपुरका अध्यक्षसमेत श्रेष्ठ श्रम, रोजगार तथा यातायातमन्त्री हुँदा ललितपुरका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी सम्हालेका छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्ति भएका छन् । याे मन्त्रालय प्रदेशमा पाेर्टफाेलियाेमा दोस्रो वरियतामा छ ।
प्रदेश सभाकाे २०७४ सालकाे निर्वाचनबाट राप्रपाबाट २ जना महिला समानुपातिक सांसद निर्वाचित भएका थिए । गत निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी राप्रपाले १३ जना सांसद जितेकाे छ । राप्रपाकाे सांसद बागमतीमा सरकार गठनका लागि निर्णायक बनेकाे थियाे । सरकारको मुख्यमन्त्रीमै दावी समेत गर्दै अाएकाे राप्रपा संसदीय दलको नेता उद्धव थापा खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्ति भएका छन् । थापा काठमाडाैंबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।
धादिङ जिल्लाबाट निर्वाचित प्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र काठमाडौं जिल्लाबाट प्रदेशमा सांसद निर्वाचित राप्रपाका राजु विष्ट वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् ।
३ जना पुनः दोहोरिए
यसैगरी, वर्तमान सरकारमा यस अघीकाे प्रदेश सरकारमा रहेका ३ जना पुनः दोहोरिएका छन् । अघिल्लो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीकाे जिम्मेवारी सम्हाली सकेका जम्मकट्टेल हाल मुख्यमन्त्री छन् । जम्मकट्टेल धादिङबाट निर्वाचित हुन् । माओवादीकै कुमारी मुक्तान पुनः सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् ।
२०७४ सालमा गठन भएकाे पहिलाे प्रदेश सरकारमा सामाजिक विकासमन्त्री रहेका युवराज दुलालले भौतिक पूर्वाधार विकासमन्त्रीकाे जिम्मेवारी सम्हाल्दै पुन दाेहाेरिएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त एमालेका केशवप्रसाद पोखरेल भने यसअघि प्रदेशसभा अन्तर्गतकाे समिति सभापति रहेका थिए ।


