मकवानपुर । मकवानपुरको हेटौंडामा फेरी चक्कु प्रहार भएको छ । किशोरलाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो।
हेटौंडामा पछिल्ला महिनामा सामान्य भनाभनका घटनामा पनि शरीरमा गहिरो चोट लाग्नेगरी चक्कु प्रहार गर्ने गरिएको पाइएको छ । शनिबार दिउँसो मादक पदार्थ सेवन गरेका युवाहरूले साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हाल हेटौंडा–४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनीलाई चक्कु प्रहार गरेका थिए ।
लुट्ने प्रयास स्वरुप सहनीलाई मादक पदार्थ सेवन गरेका हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तानले चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। चक्कु प्रहार गरी फरार रहेका दुवैजनालाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्व टोलीले हेटौडा १७ सिसौघारीबाट चक्कु सहित पक्राउ गरेको जनाइएको छ।
चक्कु प्रहारबाट घाइते सहनीको हेटौडा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाइएको छ।
यसअघि हेटौंडाको मानसचोक र बसपार्क क्षेत्रमा चक्कु प्रहार गरिएको थियो । यस्तै दुई महिना अघि एक युवतीलाई युवकले चुक्कु प्रहार गरि गम्भीर घाइते बनाएका थिए । युवतीलाई चक्कु हान्नेलाई अदालतले सफाइ दिइसकेको छ भने, अन्य दुई घटनाको अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीको भनाई छ ।

