मकवानपुर । पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगितामा भुटनिज युथ स्पोट्स क्लब फाइनल प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ गोल्डकप अन्तर्गत शनिबारको पहिलो सेमिफाइनल खेलबाट भुटनिज युथले जावलाखेल युथलाई १–० गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो ।
भुटनिज युथ स्पोर्ट्स क्लबको जितका लागि प्रविन बस्नेतले ३४ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच भुटनिजका प्रबिन बस्नेत नै घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । अब भुटनिजले आइतबार संकटा क्लब र मकवानपुर–११ बिच हुने दोस्रो सेमिफाइनलमा विजयी टिमसंग उपाधिका लागि भिड्नेछ ।
बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख रुपैयाँ र उपविजेता टिमले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ ।

