मकवानपुर । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारोन्मुख भएको दाबि गरिएको छ ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोग, राक्सिराङ् गाउँपालिकाको समन्वय तथा हिमराइट्स मकवानपुरको आयोजनामा विगत ५ वर्षदेखि नियमित रुपमा बालबालिकालाई शैक्षिकसँगै विविध पाटोमा सहयोग गरेपछि उनीहरुको शैक्षिक गुणस्तरमा सुधार देखिएको हो ।
विहीबार हिमराइट्स मकवानपुरले विद्यार्थीहरुको लागि खाजा वापत प्राप्त हुने पैसाले खाद्यन्न वितरण गरेको छ । ज्याला मजदुरी गरेर जिविका चलाउंदै आएका २५ अभिभावकको सूर्यदय माध्यमिक विद्यालयमा अध्ययनरत २५ बालबालिकालाई सहयोग गर्दै आएको छ ।

विहीबार आयोजित खाद्यन्न वितरण कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा ३ का वडाअध्यक्ष उत्तम वाइबाले विपन्न परिवारलाई छनौट गरेर गरिएको आर्थिक सहयोगले शिक्षामा सहयोगी भूमिका खेल्ने बताए । संस्थाले गरेको सहयोगलाई अभिभावकले सकारात्मक फल दिनको लागि ध्यान दिनुपर्ने उनले बताए ।
बालबालिकाको शैक्षिक उन्नती तथा उज्यालो भविष्यको लागि सकारात्मक निगरानी आफूले गर्ने उनले बताए । निरन्तर स्कुल आउन र फरक प्रकारको सिर्जनशीलता देखाउन विद्यार्थीलाई पनि वडा अध्यक्ष वाईबाले आग्रह गरे ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोगमा हिमराइट्स मकवानपुरले विद्यार्थीको अध्ययनको लागि शैक्षिक सामग्री, अतिरिक्त शिक्षक, विद्यालय पोशाक समेत सहयोग गर्दै आएको छ ।
कार्यक्रमा विद्यालयमा प्रध्यानाध्यापक सिताराम सुवेदीले सिमान्तकृत समूदायका बालबालिकालाई पढाइमा सुधार पुगेको, सहयोग निरन्तरता दिंदै दीगो आय आर्जनमा समेत ध्यान दिनुपर्ने बताए ।

हिमराइट्सले गरेको लगानीको प्रतिफल दिनको लागि अभिभावकले ध्यान दिनुपर्नेमा प्रध्यानाध्यापक सुबेदीले पनि अनुरोध गरे ।
पाँच वर्ष अघि र अहिले यहाँका विद्यार्थीहरुमा शैक्षिक गुणस्तरसँगै अतिरीक्त क्रियाकलापमा समेत सुधार भएको हिमराइट्सले व्यवस्थापन गरेको अतिरिक्त शिक्षक सबिना भारतीले बताइन् । विद्यालय समयभन्दा बाहेक प्रत्येक दिन भारतीले पाठ्यक्रम र अतिरिक्त ज्ञान हुनेगरी २ घन्टा कक्षा लिने गरेकी छिन् । भारतीलाई हिमराईट्सले नै पारिश्रमिक दिएर अतिरिक्त शिक्षकको व्यवस्था गरेको हो ।
बालबालिकाको सुरक्षा, हिंसाबाट बचावटको लागि पनि ध्यान दिनको लागि हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले आग्रह गरिन् । अभिभावकलाई दीगो आर्थिक उपार्जनमा सघाउन बाख्रा पनि वितरण गरेको वाइबाले बताइन् ।
स्थानीय जुनमाया प्रजाले आफूलाई संस्थाले बीउ पूँजिको रुपमा बाख्र सहयोग गरेपछि अरु बाख्रा समेत थपेर व्यवसायिक बन्ने कोशिसमा लागेको बताइन् । उनको छोरी सुसिला प्रजा संस्थाकै सहयोगमा कक्षा १२ पढ्दै छिन ।
विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरणको तयारी समेत भैरहेको हिमराइट्स मकवानपुरकी इन्दु गोलेले बताइन् ।

