मकवानपुर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगले आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत भएकाे भन्दै समानुपातिकतर्फ मतगणना सकिएको जनाएकाे हाे ।
आयोगका अनुसार कुल समानुपातिक तर्फ १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले ४४ सिटका साथ दाेस्राे भएकाेमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गर्दै पहिलाे भएकाे छ ।
प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको निर्वाचन आयोगले बताएकाे छ । कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६ सय ८४ मत प्राप्त गर्दै तेस्राे भएकाे छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याइ पाचाैं भएकाे छ ।
आयोगका अनुसार जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३ सय १३ मत प्राप्त गरी छैटौ स्थान बनाउँदा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ६६ मत प्राप्त गरी राष्ट्रिय पार्टी बन्न सफल भएकाे छ ।
नेकपा एकिकृत समाजवादीले आयाेगले ताेकेकाे थ्रेसहाेड कुल सदर मतकाे ३ प्रतिशत प्राप्त गर्न नसकी राष्ट्रिय पार्टी बन्न पाएन भने अन्य दलले १ लाख भन्दा कम मत प्राप्त गरेका छन् । जसमा नेकपा (एमाले)बाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि नेकपा एसले समानुपातिकमा २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगले जनाएको छ ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि पुनः राप्रपा नेपाल पार्टी खोलेर चुनावमा होमिएका कमल थापाकाे पार्टीले देशभरबाट न्युन मत प्राप्त गरेकाे छ । राप्रपा नेपालले समानुपातिक तर्फ २१ हजार ६ सय ९६ मत मात्र पाएको छ ।

