मकवानपुर । दोलखाका १० मतदानकेन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय दोलखालाई १५ गतेभित्र निर्वाचन गराउन निर्देशन दिएको छ ।
मतदान केन्द्र अनधिकृत कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको जाँचबुझ टोलीको निष्कर्षपछि आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिकराम शर्माकाअनुसार पुन मतदानको मिति भने जिल्लालाई नै तोक्ने अधिकार दिएर निर्वाचन गराउन निर्देशन दिएको हो ।“त्यहाँ निष्पक्ष मतदान हुन नदिएको जाँचबुझ टोलीको निष्कर्ष भएपछि यस्तो निर्देशन दिइएको हो ।” उनले भने ।
निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको थियो ।
४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका आठ मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई रिपोर्ट पठाएको थियो । सोही कारण थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली छानबिनका लागि खटाएको थियो टोलीले सात केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको पाइएको जनाएको छ ।
टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो । सोही अनुसार १० केन्द्रम पुन मतदान हुने भएको आयोगले जनाएको छ ।
आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस गरेको छ । दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने आयोगले जनाएको छ ।

