मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरिटारस्थित धरान–चतरा सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएकोमा एक जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हेटौडा-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने बर्ष २८ को आशिस ढकाल रहेका छन । उनको दिउसो १६:१२ बजे डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ढकाल र हेटौंडा १८ हर्नामाडीका २९ वर्षीय दीपु लामा घाइते भएका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार घाइते दुबै जनाको शरिर र टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको थियो । घाइते दुबै जनालाई हेटौंडा अस्पतालमा ल्याइएकोमा ढकालको उपचारको क्रममा मृत्यु भएको कार्कीले बताए ।
दुर्घटना पछि फरार बस चालक प्रहरीको सम्पर्कमा आएको र दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

