मकवानपुर । मकवानपुर जिल्लाम प्रतिनिधि सभा तर्फ क्षेत्र न १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयपछि जनमत पाएको छ ।
राप्रपाका दिपक बहादुर सिंह विजयीले मकवानपुरमा खाता खोलेका छन् । राप्रपाको केन्दीय सदस्य रहेका सिंहले २७ हजार ८१६ मत प्राप्त गरी विजयी भएका हुन् । सिंहलेले सत्ता गठबन्धनका महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष समेत रहेका एमालेका उम्मेदवार कमल थापालाइ पराजित गरेका हुन् । नेपाली कांग्रेसका उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गरे भने थापाले २५ हजार ४२० मत प्राप्त गरे ।
को हो दीपकबहादुर सिंह
गत चैतमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निकै चर्चामा रहेका दीपक बहादुर सिंहले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अन्तिम समयमा हारको सामना गरे । उपमहानगरको मेयरमा हारको सामना गरेपछि निरन्तर ग्रामिण भेगमा जनमतको लागि गृहकार्यमा जुटेका सिंह यसपटक प्रतिनिधि सभाको लागि विजयी भएका छन् ।
बहुदल स्थापनापछि राजनीतिबाट छायाँमा परेको लामो समयपछि राप्रपालाई मकवानपुरमा ब्युताउँने योद्धा बनेर आएका छन् सिंह ।
२४ वर्षको उमेरदेखि नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका सिंहले २०५६ र ०६४ सालको निर्वाचनमा उठेर पनि पराजय भोगेका थिए ।
बुबा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विंस २०१५ सालमा धनकुटामा जन्मिएका उनी ८ वर्षको हुँदा आमाबाबुका साथ हेटौंडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा बन्यो ।
माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो ।
२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवात देखि नै राप्रपामा आबद्ध छन् । उनी हेटौंडाका सफल उद्योगी व्यवसायी समेत हुन् ।
बहुदलपछि कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाको संसदीय निर्वाचनमा लगातार पराजित हुँदै आएको थियो । दीपकबहादुर सिंहले राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाएका छन् ।
सिंहले दुई संसदीय निर्वाचन र दुई मेयर निर्वाचन लडेर पराजित भएपछिन हार मानेर पछि हटेनन् र पाँचौँ पटकको प्रयासमा सफल भएका छन् ।
यसअघि २०५१ सालमा राप्रपाबाट कमल थापा विजयी भएका थिए । त्यसयता विजयको स्वाद चाख्न पाएको थिएन राप्रपाले । त्यसयता राप्रपाबाट प्रत्यक्ष निर्वाचन जित्न नसकेका उनै थापालाई आज त्रिपक्षीय प्रतिस्पर्धामा तेस्रो स्थानमा पुर्याएर सिंह विजयी बनेका छन् ।
देशभर वैकल्पिक शक्तिका खोजिरहेको बेला उदाएको स्वतन्त्र र राप्रपाको रोजाइमा परेका हुन् उनी । यसअघिको निर्वाचनहरुमा उनी २०५६ मा विरोध खतिवडासँग प्रतिष्पर्धामा थिए । गत स्थानीय तह निर्वाचनमा मेयर पदमा अप्रत्याशित मत ल्याएका थिए । हेटौँडामा राप्रपाको संस्थागत मत करिब ६ हजार रहेको अवस्थामा उनले लोकप्रिय मत २० हजार कटाए । यसपटक त्यसमा पनि थप्न सफल भए ।
उनको प्रतिस्पर्धा पनि जिल्लामा यसअघि पटक–पटक निर्वाचन हारेकाहरूबीच थियो । डिनाले हालसम्म प्रत्यक्ष निर्वाचन जितेकी छैनन् । उनी दुई पटक समानुपातिक कोटाबाट संसद पुगेकी हुन् । थापाले मकवानपुरमा पटकपटक नेकपा एमालेका उम्मेदवारसँग पराजय भोग्दै आएका थिए । एमालेका कृष्णप्रसाद दाहालसँग मात्रै उनी तीन पटक पराजित भएका हुन् ।
सिंह २०५४ सालमै मेयर उठेका थिए । त्यतिबेला पनि उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलसँग १ हजार २ सय मतले हार व्यहोरेका थिए । कम्युनिस्टको गढ मानिने मकवानपुरमा राजनीतिक सफलता हासिल गर्न उनलाई मुस्किल भोग्दै आएका थिए

