मकवानपुर । कृषि क्षेत्र र पशुपालनकाे लागि मकवानपुर जिल्लाकाे हाडीखाेलाले प्रसिद्धि पाएकाे छ । त्यस क्षेत्रबाट हेटौडा बजारमा दैनिक कृषिजन्य उत्पादन तरकारी फलफुल लगायत आउने गरेका छन् । हेटौडा बजार क्षेत्रकाे तरकारी आपूर्तिमा हाडिखाेला लगायतकाे स्थानबाट हुँदै आएकाे छ । पशुपालनकाे लागि समेत पर्याप्त क्षेत्र र सम्भावन भएकाेले पशुजन्य उत्पादन समेतकाे विकास गर्न सकिन्छ हाडिखाेलामा ।
यसै क्षेत्रलाई मकवानपुरका प्रदेशसभा सदस्य पदका उम्मेदवार इन्द्र बहादुर बानियाले कृषि र पशुपालनकाे हब बनाइने बताएका छन् । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले हाडिखाेलालाई कृषि र पशुपालनकाे हब बनाइने चुनावी सभामा बताएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँले गठबन्धनको सरकार बनेपछि हाडिखाेलामा बीउबीजन तथा रसायनिक मल समयमा उपलब्ध गराउने, कृषिउपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बताए ।
यसैगरी मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने मनहरि बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावीसभा तथा घरदैलो कार्यक्रममा बताएकाे छन् । बानियाँले पूर्व पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनेकाे समयमा राप्तीखोलामा पक्की पुल निर्माणको लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए । नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको उनले आराेप लगाए ।
गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर– मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ’ बानियाँले भने । नेकपा एमालेले जनताले ल्याएको उपलब्धीलाई मास्न खोज्ने, राजाबादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए । प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रम अन्तरगत १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने समेत बानियाले बताए ।
चुनावी सभाकै क्रममा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३६ जना कांग्रेस प्रवेश गरेका छन् । एमालेबाट मनहरी गाउँपालिका ५ नम्बरका पूर्व वडाध्यक्ष शुभराज थिङ, २०७४ मा निर्वाचित वडा सदस्य सोमनाथ रुम्बासहित ३६ जना एमालेका कार्यकर्ताले नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उम्मेदवार बानियाँले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

