मकवानपुर । आगामी मङ्सीर ४ गते हुने निर्वाचनमा मकवानपुर जिल्लाको लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ ।
प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पठाएको प्रत्यक्षतर्फको ३ लाख ३२ हजार मतपत्र आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मकवानपुर निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत समेत रहेका मुख्य निर्वाचन अधिकृत निरौलाले क्षेत्र नं १ मा १ लाख ६६ हजार मतपत्र आइपुगेको जानकारी दिए । उनका अनुसार यस निर्वाचन क्षत्रमा कुल १ लाख ५० हजार १ सय ५५ जना मतदाता रहेका छन् । यसैगरी अधिकृत निरौलले निर्वाचन क्षेत्र नम्बर १ को (क) का लागी ८६ हजार र (ख) का लागी ८० हजार मतपत्र विभाजन गरि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ७७ हजार ९ सय ८९ जना र प्रदेश सभा (ख) मा ७२ हजार १ सय ६६ जना मतदाता रहेका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६० हजार पाँचसय ७८ मतदाताका लागि १ लाख ६६ हजार थान मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क) मा ८३ हजार ९९ जना र प्रदेशसभा (ख) मा ७७ हजार चारसय ७९ मतदाता रहेका छन् ।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको लागि गत असोज ३० गते नै मतपत्र आइसकेको छ । कूल ३ लाख सात ३७ जना मतदाता रहेको मकवानपुरमा ३ सय ६४ वटा मतदानस्थल तोकिएको छ । ति मतदानस्थलमा मतदाताको संख्याको अनुपातमा मतदान केन्द्र समेत निर्धारण गरिएको छ ।
यसै गरि मकवानपुरका दुबै निर्वाचन अधिकृतको कार्यालयले आआफ्नो निर्वाचन क्षेत्रमा खाटाउने कर्मचारिको नामावली सार्वजनिक गरेको छ । जिल्लाका सरकारी कार्यालय, संस्थान, बैंक, विद्यालयहरुको बागमती प्रदेश निर्वाचन कार्यालयले एकीकृत गरि पठाए अनुसारको कर्मचारी विवरण सार्वजनिक गरेको हो ।

