मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे लागि निर्वाचन आयाेगमा संयुक्त निर्वाचन केन्द्र सञ्चालनमा आएकाे छ । मंसिर ४ गते हुने निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वयकाे लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको हाे ।
आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पु¥याउन उक्त केन्द्र सञ्चालनमा ल्याएको जनाएकाे छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रको उद्घाटन गर्दै केन्द्रमा खटिने कर्मचारीरूले मुख्यतः पाँच महत्वपूर्ण काम गर्नुपर्ने जानकारी दिए । ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्रको क्रियाशीलताले स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न हुने विश्वास छ’ थपलियाले भने
आयोगले साेमबारबाटै विकट पहाडी जिल्लाका मतदान केन्द्रहरुमा कर्मचारी खटाउन शुरु गरेको जानकारी दिँदै केन्द्रले उनीहरुसँगको समन्वयमा काम गर्ने थपलियाले बताए । आवश्यक पर्दा केन्द्रले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गर्दै उनले केन्द्रमा खटिने कर्मचारीहरु आयोगप्रति उत्तरदायी हुने बताए ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सम्बोधन गर्ने संयन्त्र विकास समेत गरिएको जनाएका छन् । केन्द्रले मतदानस्थलसम्म सिधै र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे/नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता कार्यान्वयन र परिपालनामा आवश्यक सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेश प्राप्त गरेकाे छ ।
आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका रापत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरु रहने छन् । केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।
आयाेगले निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन (पहिलो संशोधन) निर्देशिका, २०७९ अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेकाे हाे ।

